तनहुँ । पहाडकी रानी उपनामले चिनिएको तनहुँको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुर पर्यटकले भरिभराउ भएको छ । दसैँपछि आन्तरिक तथा बाह्य पर्यटक घुम्नको लागि बन्दीपुर उक्लिएसँगै पर्यटकको चहलपहल बढेको हो ।
पर्यटकको भीड लागेसँगै पर्यटन यहाँका व्यवसायी उत्साहित भएका छन् । दसैँपछि बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए । अधिकांश विद्यालय तथा कलेजहरू दसैँदेखि तिहार सम्म नै बिदा दिने भएकोले विशेष गरी विद्यार्थी, शिक्षक, प्राध्यापकहरूको भीड लागेको प्रधानले बताए ।
‘बिदा मनाउन दसैँपछि बन्दीपुर पर्यटकले खचाखच छ सबै होटल भरिभराउ छ,’ उनले भने । यतिबेला गर्मी पनि नहुने, जाडो पनि नहुने र पानी नपर्ने मौसम भएकाले पनि बन्दीपुरमा पर्यटक बढेको प्रधान बताउछन् । आन्तरिक पर्यटकको अलवा बन्दीपुरमा विदेशी पर्यटकको पनि उत्तिकै भीड हुन्छ । नेपाल आएका अधिकांश पर्यटक एक रात बस्नका लागि बन्दीपुर आउने गरेका छन् । भारत, चीन, अमेरिका, जापान, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्यान्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्यान्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, ग्रिस अर्जेन्टिना, डेनमार्क लगायतको देशका पर्यटक आउने गरेको समितिले जनाएको छ ।
बन्दीपुर घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्न बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेपछि पर्यटकलाई थप सहज भएको छ । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार गन्तव्यबारे जानकारी नेपाली, अङ्ग्रेजी, चाइनिज, जापनिज, कोरियन, फ्रेन्चलगायतका भाषामा तयार पारिएको छ ।
बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार भएको छ । पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा बन्दीपुर छ । तनहुँको सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिन्छन् ।
२०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौलीमा स्थानान्तरण भएपछि सुनसान बनेको बन्दीपुर पर्यटनको माध्यमबाट चहलपहल बढ्न पुगेको छ । पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले पहिलो पटक बन्दीपुरमा ‘बन्दीपुर माउन्टेन रिसोर्ट सञ्चालन ल्याएपछि पर्यटकीय क्षेत्रको रूपमा विकास हुन मद्दत पुगेको स्थानीय गोवर्धन भट्टराईले जानकारी दिए । काठमाडौँ, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रहरूको बिचमा बन्दीपुर छ ।
बन्दीपुरमा केबलकारको सञ्चालन गरिएको छ । पर्यटकलाई थप सहज रूपमा यात्रा गर्न डुम्रे बजार नजिकै रहेको ठुलो ढुङ्गोबाट बन्दीपुर जोड्ने केबलकार सञ्चालन गरिएको हो । केबलकारले बन्दीपुरलाई थप आकर्षित बनाएको छ ।