भारतलाई न्युजिल्यान्डले ८ विकेटले पराजित गर्‍यो

काठमाडौं । न्युजिल्यान्डले भारतसँगको पहिलो टेस्टमा ८ विकेटले जित हात पारेको छ । यो जित सँगै पाहुना टोलीले ३ टेस्ट सिरिजमा १–० को अग्रता समेत बनाएको छ ।

न्युजिल्यान्डले भारतमाथि सन् १९८८ को नोभेम्बर पछि पहिलो पटक घरमै जित निकालेको हो । पाँचौं तथा अन्तिम दिन आइतवार १ सय ७ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले २ विकेट गुमाएर पूरा गर्यो । टोलीका लागि विल योंगले ४८ तथा रचिन रविन्द्रले ३९ रन बनाए । भारतका लागि जसप्रित बुमराहले २ विकेट लिए ।

सरफराज खानको शतकका बाबजुद भारतले पाहुना न्युजिल्यान्डलाई सामान्य लक्ष्य दिएको थियो । भारत पहिलो पारीमा ३ सय ५६ रनले पछि परेको थियो । दोस्रो पारीमा घरेलु भारतले ४ सय ६२ रन मात्र जोडेपछि न्युजिल्यान्डले सामान्य लक्ष्य पाएको हो । सुरुवात राम्रो गरेको भारतका लागि मध्यक्रमका ब्याटर चल्न सकेनन् । घरेलु टोलीले ४ सय ८ रनमा ३ विकेट गुमाएको अवस्थाबाट ५४ रन जोड्दा बाँकी ७ विकेट गुमायो । घरेलु टोलीका लागि सरफराजले १ सय ५०, ऋषभ पन्तले ९९, विराट कोहलीले ७० तथा कप्तान रोहित शर्माले ५२ रन जोडे । न्युजिल्यान्डका रचिन रविन्द्रको शतक सहयोगमा पाहुना टोलीले पहिलो पारीमा ४०२ रन बनाएको थियो ।

दोस्रो पारीमा पाहुना टोलीका लागि म्याट हेनरी र विलियम ओरोर्कले समान ३, अजाज पटेलले २ तथा टिम साउथी र ग्लेन फिलिप्सले समान १ विकेट लिए । त्यसअघि वर्षाका कारण पहिलो दिनको खेल पूर्ण रुपले प्रभावित भएकोले दोस्रो दिन मात्र टस सम्भव भएको थियो । भारतको बेंगलुरुमा टस जितेर ब्याटिङ सुरुवात गरेको घरेलु टोली पहिलो इनिङमा ४६ रनमा समेटियो ।

पहिलो पारीमा भ्रमणकारी टोलीका लागि म्याट हेनरी ५ विकेट लिए । विलियम ओरोर्कले ४ तथा टिम साउथीले १ विकेट लिए । पहिलो पारीमा पाहुना टोलीले ४ सय २ रन बनाउँदै ३ सय ५६ रनको अग्रता लिएको थियो । दुई देश बीचको दोस्रो टेस्ट आगामी बिहीवारबाट पुनेमा सुरु हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार