अमेरिका विरुद्धको टि–२० सिरिज एक खेल अगावै नेपाललाई, सुपर ओभरमा विजयी

काठमाडौं । नेपालले अमेरिका विरुद्धको टि–२० सिरिज एक खेल अगावै जितेको छ । आज भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले एक खेल अगावै सिरिज जितेको हो ।

नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेट गुमाएर १७० रन बनाए पछि खेलको निर्णय सुपर ओभरबाट गरिएको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले २ रन बनाएको थियो । नेपालले सुपर ओभरमा जितका लागि ३ रनको लक्ष्य ४ बलमा पुरा गर्दै एक खेल अघि नै सिरिज जितेको हो । सुपर ओभरमा नेपालका सोमपाल कामीले ४ बलमा अमेरिकाका दुई विकेट लिए पछि नेपालले ३ रनको लक्ष्य पाएको थियो ।

यस अघि अमेरिकाले ८ विकेट गुमाएर १७० रन बनायो भने नेपालले ६ विकेट गुमाएर १७० रन नै बनएको थियो । अमेरिकाका लागि एन्ड्रिज गौस सर्वाधिक ६२ रनको योगदान दिए । त्यस्तै साइतेजा मुक्कामल्ला ४७ रनको पारी खेले । त्यस्तै मिलिन्द कुमारले १५ रन बनाए भने शायन जहाँगीरले पनि १४ रनको योगदान दिए । नेपालका लागि करण केसीले ३ विकेट लिए । त्यस्तै सोमपाल कामीले २ विकेट लिए भने सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ९२ रनको अविजित पारी खेले । त्यस्तै अनिल साहले २५ रनको योगदान दिए । गुल्सन झाले १९ र कप्तान रोहित पौडेलले १८ रनको योगदान दिए । अमेरिकाका जसदीप सिंह र नोस्थुश केन्जिगेले समान २–२ विकेट लिए ।

अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । नेपालले टी–२० सिरिजको तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार खेल्ने छ । यो टी–२० सिरिजपछि नेपालले अमेरिकामै आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्डसँग त्रिदेशीय एकदिवसीय सिरिज खेल्ने छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार