सुनचाँदी धितोको एकल ग्राहक कर्जा सीमा ५० लाख तोकियो, संस्थापक सेयरधनीले आफ्नै बैंकबाट ऋण लिन पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका संस्थापक र सेयरधनीले आफ्नै बैंकबाट ऋण लिन पाउने तथा सुनचाँदीको धितो राखेर लिइने एकल कर्जाको सीमा ५० लाख रुपैयाँ तोकेको छ । केन्द्रिय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

एकीकृत निर्देशन अनुसार बैंकका संस्थापक र सेयरधनीले आफ्नै बैंकबाट ऋण लिन पाउने भएका हुन् । ‘इजाजतपत्रप्राप्त संस्थाकोचुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी, एक प्रतिशत वा सोभन्दा बढी सेयर लिएका सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न पाइने छैन,’ राष्ट्र बैंकको एकीकृत निर्देशनमा भनिएको छ । यस अघिको व्यवस्थामा इजाजतपत्रप्राप्त संस्थाका संस्थापक समूहका सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न नपाइने व्यवस्था थियो ।

त्यस्तै राष्ट्र बैंकले चुक्ता पुँजीको ०.५ प्रतिशत भन्दा बढी सेयरधारण गरेका सेयरधनीहरुको विवरण इजाजतपत्रप्राप्त संस्थाले अर्धवार्षिक रुपमा सम्बन्धित सुपरिवेक्षण विभागसमक्ष पेश निर्देशन पनि दिने भएको छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकले सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख रुपैयाँ पु¥याएको छ । यस अघि उक्त प्रकारको प्रवाह भएको कर्जाको हकमा २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले सुनचाँदी धितो कर्जाको लागि संशोधित व्यवस्था अनुरुप उक्त व्यवस्था गरेको हो । राष्ट्र बैंकले मंगलबार “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन/परिमार्जन/थप गर्दै उक्त व्यवस्था गरेको जनाएको छ । यसअघि भने सुनचाँदी धितो कर्जाको एकल ग्राहकको हकमा कर्जा सीमा तोकिएको थिएन ।

संशोधन अघि कुनै व्यक्तिलाई सुनचाँदी धितो कर्जा प्रवाह गर्दा त्यस्तो ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी जाँच गरी कर्जा सुरक्षित रहेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । यसरी कर्जा प्रवाह गर्दा ऋणीले धितो स्वरुपदिएको सुन वा चाँदी एउटै थैलीमा राखिएको हुनुपर्नेछ ।
संशोधित व्यवस्था अनुरुप राष्ट्र बैंकले सेयर धितो कर्जामा समेत नयाँ व्यवस्था गरेको छ । जसअनुरुप सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नु पर्नेछ । इजाजतपत्रप्राप्त संस्थाले मार्जिन कल गर्नेतथा थप सुरक्षण नराखेमा सेयर विक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्नेछ । मार्जिन कल गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस सेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्न सकिन्छ ।

त्यस्तै ब्याज पुँजीकरण गरिएका ५० मेगावाट वा सो भन्दा बढी क्षमताको जलविद्युत परियोजानको हकमा भने उक्त परियोजनाको निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको प्रमाणित भएको अवस्थामा आइसीटिएलमा रहेको रकमलाई आइसीआर बाट घटाइ संचित मुनाफा हिसावमा सार्न सकिने छ । तर ब्याज पुँजीकरण गरिएका अन्य परियोजनाको हकमा भने व्यवसायीक रुपमा सञ्चालनमा आएको अवस्थामा आइसीटिएल मा रहेको सम्पूर्ण रकमलाई आइसीआर बाट घटाएर सञ्चित मुनाफा हिसाब सार्न सकिने व्यवस्था गरिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार