रेकर्ड ब्रेक वर्षाले काठमाडौं उपत्यकामा ठूलो क्षति, ३४ जनाको मृत्यु

काठमाडौं । काठमाडौं उपत्यकामा रेकर्डब्रेक वर्षाले धनजनको ठूलो क्षति भएको छ । तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर ३४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ४८१ जनाको उद्दार गरिएको छ भने २१ जना हराइरहेका प्रहरीले जनाएको छ ।
बागमती, नख्खु लगायतका सबै नदीमा आएको बाढीले करिडोर सडक मात्र होइन, आसपासमा भएका संरचनामा समेत क्षति पु¥याएको छ । शुक्रबार र शनिबार काठमाडौं उपत्यकामा यति धेरै वर्षा भयो कि केही वर्षा मापन केन्द्रमा रेकर्ड नै तोडिएको छ । सबैभन्दा बढी वर्षा ललितपुरको चापागाउँमा भएको छ । त्यहाँ २४ घण्टाको अवधिमा ३२३ मिलिमिटर वर्षा भएको छ । यसअघि २००२ मा २०० मिलिमिटर वर्षा भएको रेकर्ड छ ।

काठमाडौंको पानीपोखरीमा पनि ५३ वर्ष पुरानो रेकर्ड तोडिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पानीपोखरीमा सन् १९७१ मा १९८ मिलिमिटर वर्षा रेकर्ड भएको थियो, यसपटक २२५.२ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नैकाप, नागार्जुन, चाँगुनारायण, बूढानीलकण्ठ, खोकना, जितपुरफेँदी र नङ्खेलमा पनि वर्षाको पुरानो रेकर्ड तोडिएको छ ।

बंगालको खाडीको उत्तरपट्टी न्यूनचापीय प्रणाली विकास भएको थियो । अर्थात् यो नेपालको नजिक थियो । यो प्रणाली उत्तरतिर हानिएको हुनाले यसले नेपालमा धेरै नै जलवाष्प ल्यायो । र, ठाउँठाउँमा भारीदेखि अति भारी वर्षा भएको थियो ।

कोशी प्रदेशको दक्षिणपूर्व (झापा)बाट वर्षा सुरू भएको थियो । त्यसपछि गण्डकीको दक्षिण, बागमतीको दक्षिण र लुम्बिनीका थोरै स्थानमा भारी वर्षा गरायो । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले बागमती प्रदेशका जिल्लामा बढी क्षति पुर्याएको छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार