पर्यटनमा योगदान पुर्‍याउने पाँच युवा सम्मानित

काठमाडौं । टुरिजम रिसर्च एण्ड टेनिंग इन्स्टिच्युट (टिआरटिआइ) को तेस्रो नेशनल टुरिजम कन्फ्रेन्स सम्पन्न भएको छ । कोशी, मधेश र बागमती प्रदेशका चारवटा विद्यालयका विद्यार्थीले सातै प्रदेशलाई प्रतिनिधित्व गरेर सांस्कृतिक नृत्य तथा पर्यटन र सम्भावनाका विषयमा खोजमूलक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा पर्यटनमा योगदान पुराउने पाँचजना युवालाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले पर्यटनको सम्भावनालाई उजागर गर्न अनुसन्धान आवश्यक रहेको बताए । ‘नेपालमा पर्यटन बलियो भविष्य र सम्भावनाले भरिएको क्षेत्र हो । तर यसमा जति अनुसन्धान हुनु पर्ने हो त्यो हुन सकको छैन । विविधताले भरिपूर्ण नेपाल पर्वतीय र साहसिक पर्यटनको गन्तव्यका रूपमा विश्वमा बढी परिचित रहेकाले नेपाललाई लाइभटाइम एक्सपेरियन्सका रूपमा अगाडि बढाउने गरी हामी काम गर्दैछौँ,’ उनले भने ।

त्यस्तैगरी, पूर्वसचिव केदारबहादुर अधिकारीले पर्यटन समृद्धिको आधारमार्फत देशलाई समुन्नत बनाउन दिगो पर्यटनको आधार र सम्भावनाबारे प्रस्ट हुनुपर्ने बताए । पर्यटन व्यवसाय अर्थतन्त्रमा समेत ठुलो योगदान पुराउने क्षेत्र भएकाले नेपाल जस्तो भूपरिवेष्टित र विकासोन्मुख राष्ट्रका लागि पर्यटन विकासको आवश्यकता रहेकोमा उनको जोड थियो ।

टीआरटीआइका अध्यक्ष मदनकुमार बरालले नेपालमा पर्यटनका अपार सम्भावना रहेकाले यसको प्रर्वद्वनमा राज्य र नागरिक सबैले एकजुट भएर लाग्नु पर्ने बताए । संस्थाका निर्देशक सरोज प्याकुरेलले देशमा पर्यटन सचेतनाका आवश्यकता औँल्याउँदै त्यसका लागि संस्थाले नेपाल टुरिजम बोर्डको सहकार्यमा देशभर १४५ वटा टुरिजम क्लबहरू गठन गरिएको जानकारी दिए ।

कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइराला, होमस्टे महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष धनेश्वर बस्याल, हस्पिटालिटि एजुकेशनिष्ट वसन्त प्रसाद जोशी तथा लिभ्लिउड एस्सपर्ट तथा एसटिएलआरपीका एक्टिंग एनपीएम धर्म दवाडीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पर्यटन र शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आएका पाँच जनाले सम्मान तथा दुई जनालाई विद्यार्थी पर्यटन दूत तथा युवा पर्यटन दूत नियुक्त गरिएको छ । कार्यक्रममा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका विद्यासागर स्कुल बौद्ध प्रथम, जनकपुरको मोनाष्टिक स्कुल द्वितीय तथा कीर्तिपुरको नेपाल एपिएफ स्कुललाई क्रमशः, १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार