जलवायु र वातावरणको क्षेत्रमा काम गर्न छुट्टै नीति नियम आवश्यक : कल्याण गुरुङ

काठमाडौं । नेपाली कांग्रेस वातावरण तथा जलबायु परिवर्तन सरोकार विभागका सभापति कल्याण गुरुङले वातावरण र जलवायुको क्षेत्रमा प्रभावकारी काम गर्न छुट्टै नीति,नियम र कानुन आवश्यक रहेको बताएका छन् । विभागले आयोजना गरेको वातावरण तथा जलवायु परिवर्तन सरोकार बिषयक कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गुरुङले वातावरण र जलवायु परिवर्तनको असर अहिले नेपाल जस्तो बिकासोन्मुख मुलुकमा देखिन थालेको भन्दै यसको नीति नियम र कानुन बनाएर प्रभावकारी रुपमा काम गर्नु पर्ने बताएका हुन् ।

जलवायु परिवर्तनको असरकै कारण अहिले नेपाल मात्र नभई विश्वजगत भयभित भएको भन्दै सबैको साँझा प्रयासबाट यसको न्यूनिकरण गर्न सकिने उनको भनाइ थियो । उनले जलवायु परिवर्तनको असर, यसले पार्ने प्रभाव र न्युनिकरण गर्दै जाने उपायको बारेमा तल्लो तहदेखि नेपाली कांग्रेसको नेतृत्व तहसम्म पुर्याउने पनि बताए ।

नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष तथा जलवायु अभियान्ता आङछिरिङ शेर्पाले जलवायु परिवर्तनबाट पर्वतीय क्षेत्र र पर्यटन व्यवसायमा जोखिममा पर्दै गएको बताए । हिमताल विष्फोट र हिमपहिरोका घटनाहरु बढ्दै गएको भन्दै उनले जलवायु अनुकुलन र प्रभाव न्यूनीकरणमा संसारकै ध्यानाकृष्ट गर्नुपर्ने अवश्यकता रहेको औल्याए । कार्यक्रममा जलवायु परिवर्तन र थामे घटनाका बिषयमा भिडियो र फोटो सहितको व्याख्या पत्रकार चक्र कार्कीले प्रस्तुत गरेका थिए ।

वातावरणीय सुशासनमा पार्टी विभागको भूमिकाको विषयमा वातावरणविद निरञ्जन श्रेष्ठले प्रस्तुत गरेका थिए । त्यसैगरी प्लाष्टिक प्रदूषण र पानी व्यवस्थापनमा वातावरणविद डा. विजय थापाले प्रस्ुतीकरण गरे । पर्यटन व्यवसायी संगम शेर्पाले दिगो सहस्राब्दी लक्ष्य र दिगो पर्यटन व्यवसायको बारेमा प्रभावकारी रुपमा प्रस्तुती गरेका थिए । वातावरणविद डा. जयराम कार्कीले प्रदूषणरहित इको मास्क र जलवायु परिवर्तनविज्ञ युगान मानन्धरले पेरिस सम्झौताको बारेमा जानकारी गराएका थिए ।

पर्यटन व्यवसायी संगम शेर्पाले दिगो सहस्राब्दी लक्ष्य र दिगो पर्यटन व्यवसायबारे बोल्दै गरिबी, वातावरणीय क्षति, र आधारभूत संरचनाको कमीको समस्या बढ्दै गएको र यस्ता लक्ष्यहरूलाई देशका प्रत्येक नागरिकसम्म पुर्‍याउनु पर्नेमा जोड दिए । विशेष गरी वातावरणीय संरक्षण र जलवायु परिवर्तन सम्बन्धी लक्ष्यहरूमा केन्द्रित हुँदै नवीकरणीय ऊर्जा, दिगो कृषि, र संरक्षण प्रयासहरूलाई समर्थन गर्दै, नेपालको वातावरणीय सन्तुलनलाई कायम राख्न नीति समर्थन गर्ने काममा लागिपर्न पनि उनको सुझाब थियो । युवा शक्तिशाली परिवर्तनकर्ता भएको र दिगो विकासका लक्ष्यहरूलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्नु अत्यावश्यक छ भन्दै यसले युवाहरूलाई भविष्यका नेताहरूको रूपमा तयार पार्न मद्दत गर्ने उनको भनाइ थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार