दाङ । पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका–९ स्थित रिहार धाम हिजोआज सुनसान छ । हरेक वर्ष माघीमा मेला लाग्दा मात्र घुइँचो हुने गरेको भए पनि अन्य समयमा सुनसान हुने गरेको छ । दैनिक एक–दुईजना मन्दिरमा दर्शन गर्न मुस्किलले आउने गर्छन् । खासगरी सोही ठाउँमा हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा लाग्ने मेलामा भारतबाट आउने दर्शनार्थी धेरै हुन्छन् ।
पारिवारिक सुःख र पशु चौपायालाई रोगव्याधीले नसताउने धार्मिक विश्वासका साथ भारतबाट यसरी आउने गर्छन् । विशेषगरी त्यहाँ लाग्ने मेलामा भौरी (ढुङ्गा) बोकेर को बलियो छ भन्दै मन्दिर परिक्रमा गर्ने चलन छ । द्वापर युुगमा ऋषिमुनिहरूले बिहार गरेको स्थलका रूपमा रिहार परिचित छ । बगारबाबासहित भैने पर्शुु, मामीसौरी, बराह झाँक्री मन्दिर, गणेश मन्दिर, शिव मन्दिरजस्ता तीर्थाटन पर्यटकका लागि धार्मिक संरचना रहेका छन् ।
त्यहाँ अहिले १० लाखको लागतमा उद्यान (पार्क) पनि निर्माण भइरहेको छ । यसरी संरचना थपिँदै जाने तर पर्यटक नआउने गर्दा स्थानीय चिन्तित छन् । ‘दिनमा दुई–तीन जनामात्र आउँछन्’, स्थानीय सम्झना चौधरीले भनिन्, ‘कहिल्यै त शून्य हुन्छ ।’ यो धामको इतिहास हजारौं वर्ष पुरानो मानिन्छ । द्वापर युुगमा ग्वालाहरूले गाई चराउने र गाईले बगारबाबालाई दूध चढाउने गरेको धार्मिक विश्वास छ । राजमार्गको दायाँ बायाँमा फैलिएको रिहार धाम एक सय हेक्टर क्षेत्रफलमा रहेको छ । रिहारमा तीर्थाटनका पर्यटकले बगारबाबाको पूजा गर्दछन् । बगारबाबा खुसी भएमा सन्तान र धन सम्पत्ति लाभ हुुन विश्वास छ ।
रिहारलाई यदुवंशी अर्थात् यादवहरूले आफ्नो पुर्खाको उदगमस्थल मान्दै आएका छन् । जुन कारणले बगारबाबा क्षेत्र यदुवंशीहरूको सांस्कृतिक धरोहरका रूपमा लिने गरेका छन् । अर्को रिहारमा थारू जातिहरूको पनि संस्कृति जोडिएको छ । थारू जातिले रिहार क्षेत्रमा परापूर्वकालदेखि नै गाई चराउने, गोठ राख्ने र बगारबाबालाई पूजाआजा गर्दै आएका छन् ।
रिहार धाम यादव र थारू जाति दुवैको धरोहर हो । रिहारमा द्वापर युगमा दङ्गीशरण राजा र यदुवंशीको बीचमा घोडीको विषयमा विवाद भएको र विवाद मिलाउनलाई कृष्ण भगवान् रिहार आएको किंवदन्ती छ । त्यहाँ तप्तकुण्ड पनि छ, जहाँ सधैँ तातोपानी हुन्छ । मामा–भाञ्जी मन्दिर, घ्यू पोखिएको ठाउँ पनि त्यही छ ।