१६ जनाले आरोहण गरे मनासलु हिमाल

काठमाडौं । शरद ऋतुमा आरोहणका लागि पहिलो रोजाइमा पर्ने मनासलु हिमालमा आरोहण सुरु भएको छ । सेभेन समिट ट्रेकबाट मनासलु आरोहणका लागि चुचुरोसम्म बाटो (रोप फिक्सिङ) बनाउन गएका छ जना शेर्पाले बुधबार चुचुरो टेकेसँगै बिहीबार थप १० जना आरोही चुचुरोमा पुगेका छन् ।

सेभेन समिटका महाप्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिए । ‘चचुरोसम्मको बाटो तयार भएसँगै यो वर्षको आरोहणको पहिलो दिन १० जना आरोही चुचुरोमा पुगेका हुन् । बिहीबार सात जना नेपाली र तीन जना विदेशीले सफल आरोहण गरेका छन्,’ उलने भने । पर्यटन विभागका निर्देशक राकेश गुरुङले आरोहणका लागि मौसमसमेत अनुकूल रहेकाले दोस्रो तथा तेस्रो आधार शिविरमा रहेका आरोही धमाधम आरोहण पूरा गर्ने तयारीका साथ चुचुरोतर्फ लाग्ने क्रम जारी रहेको जानकारी दिए ।

शरद ऋतुमा मनासलुसहित १० वटा हिमालमा आरोहणका लागि बिहीबारसम्म ३६२ जनाले अनुमति लिएको भन्दै उनले मनासलु आरोहणका लागि यस पटक २२६ पुरुष र ८२ जना महिला गरी ३०८ जनाले अनुमति लिएको जानकारी दिए । गत वर्षको यही सिजनमा मनासलु हिमाल आरोहणका लागि ३०१ जनाले अनुमति लिएका थिए । मनासलुमा पोहर भदौ ३१ गते पहिलो आरोहण भएको थियो ।

विभागका अनुसार यस वर्ष पुथा हिउँचुली, अन्नपूर्ण चौथो, ठकर गो इस्ट, धौलागिरि, फुङ्गी, कुम्भकर्ण, अरनिको चुली, अपि र मकालु गरी १० वटा हिमाल आरोहण अनुमति दिइएको छ । हिमालमा आरोहण अनुमतिबापत चार करोड ५२ लाख ४५ हजार ८४८ रुपियाँ राजस्व संकलन भएको विभागले जनाएको छ । किलर माउन्टेनको नामले परिचित मनासलु आरोहण सगरमाथा आरोहणअघिको पूर्वतयारीका रूपमा लिइन्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार