कावासोती । थारु समुदायका महिलाहरुको ‘झाम्टा’ गीत गाउने प्रचलन नवलपुरमा हराउँदै जान थालेको छ । केही वर्ष अघिसम्म गाउँमा प्रत्येक घरमा ‘झाम्टा’ गीत गाउँदै नाँच्दै जितिया मनाउने प्रचलन रहेको भएपनि पछिल्लो समयमा ‘झाम्टा’ नाँच हराउँदै जान थालेपछि थारु अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।
थारु समुदायका महिलाले परम्परागत रुपमा गाउँघरमा ‘झाम्टा’ गीत गाउँदै नाच्दै गर्दा अन्य समुदायका मानिसले माग्न आएको भन्ने होच्चाउने गर्न थालेपछि संस्कृति संरक्षण गर्न हिजोआज प्रतियोगिता आयोजना गर्न लागिएको थारु कल्याणकारी समितिका केन्द्रिय सदस्य विरेन्द्र चौधरीले बताए । ‘पूर्वी नवलपरासीको तराई क्षेत्रमा थारु समुदायको बाहुल्यता रहेको छ । सन्तानको दीर्घायुको लागि महिला व्रत बस्ने दिनका रुपमा चिनिने पर्व हो, जितिया । पहिले पहिले जितिया पर्वको रौनक एक दुई हप्ता अगाडिदेखि नै हुन्थ्यो। तर अहिले पहिले जस्तो छैन् । त्यसकारण जिल्लामा झाम्टा गीत प्रतियोगिता आयोजना गरेका हौँ,’ उनले भने ।
थारु समुदायका महिलाहरुले जितिया पर्वका अवसरमा प्रत्येक घर घरमा गएर गाँउने नाँच्ने झाम्टा गीत र नाँचको संरक्षणमा नगर स्तरीय रुपमा कावासोतीमा समूह दर्ता गरि आयोजना गरिएको थारु कल्याण समिति कावासोतीका सभापति विकन कुमारी महतोले बताए । कावासोती १० मगरकोटमा आयोजना गरिएको प्रतियोगितामा नगरका ४५ समूहको सहभागीता रहेको थियो । विजेता समूहले क्रमशः पहिलो हुनेले १७ हजार, दोस्रोले १३ हजार, तेस्रोले ९ हजार र सान्त्वना २ समुहलाई ४÷४ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।
थारु समुदायको बाक्लो बसोबास रहेको जिल्लाको मध्यविन्दु, कावासोती, देवचुली नगरपालिकामा जितियाको विशेष उल्लासका साथ मनाउने गरिएको छ । यो पर्वले महिलाको सांस्कृतिक भूमिका र महत्वलाई उजागर गर्ने विश्वास लिइएको छ । जितिया पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन नेपालको मध्यभागमा रहेको नवलपुर तथा तराइका जिल्लामा थारु महिलाले मनाउने गर्दछन् ।