खोप्रालेकमा बढे पर्यटक

म्याग्दी । अन्नपूर्ण पदयात्रामा पर्ने खोप्रालेकमा केही दिन यता मौसममा सुधार आएको छ । बिहानीपख आकाश खुला हुन थालेको छ । मौसममा सुधार आउन थालेसँगै आन्तरिक पर्यटकहरु खोप्रा पुग्न थालेका छन् ।

अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारको शिरमा अवस्थित खोप्रा समुद्री सतहदेखि तीन हजार ६ सय साठी मिटरको उचाइमा पर्दछ । खोप्राबाट धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला नजिकबाट अवलोकन गर्न सकिन्छ ।

वर्षातको सिजन भएकाले खोप्रालेकमा हरियाली छ । पाखाभरी विभिन्न फूलहरु फुलेका छन् । भेडाच्याङ्ग्रा र चौंरीले पाखो भरिएको छ । विहानीपख खुलेको मौसमका कारण अहिले आँखै अगाडि सुन्दर हिमशृङ्खलाको अवलोकन गर्न पाइन्छ । मौसम खुलेका कारण खोप्राको भ्रमण रोमाञ्चक भएको जुनु पुनले बताए ।

‘खोप्रालेक पहिलो पटक पुगेको थिएँ । खोप्रा साँच्चिकै स्वर्ग जस्तै रहेछ । प्रकृतिप्रेमीहरुका लागि खोप्रा ट्रेक निकै आनन्द र रोमाञ्चक छ,’ उनले भने । बिहानीपख आँखै अगाडी सेताम्मे हिमालको अवलोकन गर्दा मन फुरुङ्ग भएको उनले बताए । बेलुका सुत्नेबेलामा आकामा टम्म बादल लागेको थियो खोप्रा पुगेका रुपेश कार्कीले भने, ‘भोलि बिहान मौसम नखुल्ने भयो हामी चिन्तित भएका थियौं । तर बिहान मौसम क्या गजब भइदियो, आकाश खुल्यो, हिमालसँग रमाउन पाइयो ।’ खोप्राबाट धौलागिरि, गुर्जा, चुरेन, निलगिरि, अन्नपूर्ण लगायतका हिमालहरु आँखै अगाडि देख्न सकिन्छ ।

भदौ महिनाको दोस्रो हप्तादेखि बिहानीपख मौसममा सुधार आएको छ । मौसममा सुधार आएसँगै आन्तरिक पर्यटकहरु खोप्रा आउन थालेको पाउद्वार पर्यटन सहकारीद्वारा सञ्चालित सामुदायिक लजका कर्मचारी आदेश तिलिजाले बताए । असोजको पहिलो हप्तादेखि पर्यटक सिजन सुरु हुने भए पनि अहिले दैनिक १० देखि २० जनासम्म पर्यटक खोप्राको भ्रमणमा आउने गरेको उनले बताए ।

दसैं तिहारको सिजनमा खोप्रा पर्यटकले भरिभराउ हुने उनले बताए । खोप्रामा रहेको सामुदायिक लजमा ६५ जनासम्म पर्यटक बास बस्ने क्षमता छ । खोप्रा पुग्नका लागि पाउद्वार गाउँदेखि सामुदायिक पदमार्गको विकास गरिएको छ । पाउद्वारबाट करिब ८ घण्टाको पदयात्रापछि खोप्रा पुग्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार