कागज उद्योगबाट मनग्गे आम्दानी, २० जनालाई रोजगारी

दाङ । राप्ती गाउँपालिका–१ भालुवाङ निवासी ५६ वर्षीय डम्मर जिसीले सञ्चालन गरेको नेपाली हाते कागज उद्योगमा स्थानीय २० जनाले रोजगारी पाएका छन् । पच्चिस वर्ष स्वास्थ्य चौकी भालुवाङमा कार्यालय सहयोगीका रुपमा काम गरेका जिसीले अवकाशपछि डेढ वर्षअघि उद्योग सञ्चालन गरेका हुन् । राप्ती गाउँपालिका–४ पिपरखुटीमा करिब रु ४५ लाख लगानी गरेर राप्ती कागज उद्योग सञ्चालन गर्नुभएका जिसीले उद्योगबाट राम्रो आम्दानी गर्दै आएका छन् ।

सरकारी जागिरपछिको समयमा के गर्ने भन्ने लागिरहेको समयमा उद्योग सञ्चालन गरेको उनले बताए । ‘जागिरपछि खाली बस्नुभन्दा पहिलेदेखि बाबियो निर्यात गर्दै आएकाले कागज उद्योग सञ्चालन गरेको थिए, अहिले राम्रो आम्दानी भइरहेको छ । उद्योगको कमाइबाट सन्तुष्ट छु,’ उलने भने । उद्योगमा काम गर्नेहरुले कामअनुसार रु २० देखि ३५ हजारसम्म महिनामा कमाई गर्ने गरेका छन् ।

स्थानीयस्तरको उद्योगमा गाउँमै रोजगारी पाउँदा बालबच्चाको पठनपाठनदेखि घरखर्चका लागि राम्रो आम्दानी भइरहेको राप्ती गाउँपालिका निवासी पार्वती गाहाले बताइन् । उद्योग स्थापना भएसँगै रोजगारीमा जोडिनुभएकी गाहाले उद्योगबाट भएको आम्दानीले घर खर्च चलाउनेदेखि छोराछोरीलाई पढाउने पैसा जुटाइरहेको बताइन् । ‘घर हेर्नेसँगै छोराछोरीलाई पढाउनुपर्ने भएकाले रोजगारीका लागि टाढा जाने अवस्था थिएन, गाउँमै उद्योग स्थापना भएपछि काम गर्न सजिलो भएको छ, आम्दानी पनि भइरहेको छ,’ उनले भने । कागज उद्योग सञ्चालनका लागि सात कट्ठा जग्गा वार्षिक रु एक लाख तिर्ने गरी भाडामा लिएका छन् ।

स्थानीयस्तरमै पाइने वनस्पति र केही कच्चापदार्थ बाहिरी जिल्लाबाट आयात गरी जिल्लामै पहिलोपटक नेपाली कागज उद्योग सञ्चालन गरेका जिसीले महिनामा लाखौँको आम्दानी गर्दै आएका छन् । पछिल्लो समय आर्थिक मन्दीका कारण जिल्लामा धेरै व्यापार–व्यवसाय धराशयी भइरहेका बेला नयाँ व्यवसाय सञ्चालन गर्नुभएका जिसीले राम्रो आम्दानी  गरिरहेको बताए ।

नेपाली कागज उद्योगका लागि आवश्यक कच्चापदार्थका रुपमा बाबियोलगायत सामग्री जिल्लामै प्रशस्त मात्रमा पाइने र लोक्ता, अघ्रेलीलगायत कच्चापदार्थ पूर्वी नेपालको पाँचथर जिल्लाबाट ल्याउने गरेको बताए । उद्योगको उत्पादन र कारोबारले सरकारी जागिर बिर्साइदिएको भन्दै उनले सुनाए । ‘जागिरका क्रममा महिनामा ३०÷३५ हजार तलब आउने गरेको थियो । तर अहिले त्योभन्दा धेरै उद्योगबाटै आम्दानी भइरहेको छ,’ जिसीले भने । उद्योगबाट दैनिक विभिन्न साइजका चार हजारप्रति नेपाली कागज उत्पादन भइरहेको छ ।

त्यसैगरी, २० कोरी कागज उत्पादन हुन्छ । एक कोरीमा दुई सयप्रति हुन्छ हुने भन्दै सञ्चालक जिसीले भने, ‘नेपाली कागजको बिक्रीका लागि बजारको समस्या छैन । जति उत्पादन गरे पनि बिक्री भइरहेको छ ।’ उनका अनुसार उद्योगबाट उत्पादन भएको कागज पूर्वमा काठमाडौँ, विराटनगरदेखि पूर्व–पश्चिम नेपालगञ्ज, सुर्खेत, धनगढीलगायत ठाउँहरुमा जाने गरेको छ ।

अदालत, मालपोतलगायत सरकारी कार्यालयमा बढी मात्रामा प्रयोग हुने कागज उत्पादन गर्दै आएका जिसीले गत वर्ष एक करोड बढीको कारोबार गरेको बताए । उनका अनुसार उद्योगबाट २० ग्रामको नेपाली कागजलाई प्रतिगोटा रु १०, २५ ग्रामलाई प्रतिगोटा रु २५, ३० ग्रामको कागजलाई प्रतिगोटा रु ३० र ४० ग्रामकोलाई प्रतिगोटा रु ५० का दरले बिक्री गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार