बेनी–जोमसोम यात्रामा मन बहकाउने झरनाहरु

म्याग्दी । सडक मार्ग भएर मुस्ताङ भ्रमणमा जाने पर्यटकले म्याग्दी खण्डमा कच्ची र अप्ठ्यारो सडक छिचोल्नुपर्छ । म्याग्दीको बेनीदेखि मुस्ताङको घाँसा नपुग्दासम्म करिब ४५ किलोमिटर सडक पूूर्ण रुपमा स्तरोन्नति भइसकेको छैन । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत स्तरोन्नतिको चरणमा रहेको सडकको म्याग्दी खण्डको यात्रा मुस्ताङको तुलनामा असहज छ ।

कालीगण्डकी नदीको किनारै किनार मुस्ताङ उक्लिने बेनी–जोमसोम सडक छेउछाउका मनमोहक झरनाहरुले यात्राको दुुःख, कष्ट भुुलाइदिने गरेको यात्रुहरु बताउँछन् । ‘गाडीबाटै देखिने झरनाहरु बेनी–जोमसोम सडकका गहना हुन’, मुुस्ताङ घुमेर फर्किएका बेनीका विनोद खत्रीले भने, ‘झरनाहरुको सौन्दर्यले यात्राको दुुःख, कष्ट र पीडा भुलाएर उत्साह र उमङ्ग ल्याउँछ ।’ बेनीदेखि पाँच किलोमिटर उत्तरमा पर्वतको बाँसखर्कबाट झर्ने बाउसे झरना छ । बाउसे झरनादेखि एक किलोमिटर माथि म्याग्दी र पर्वतको सिमाना भएर बग्ने पुम्दी खोलाको छहरा देखिन्छ ।

अन्नपूर्ण गाउँपालिका–७ स्थित महभिर झरनाले पर्यटक लोभ्याउने गर्छ । पूर्वाधार निर्माण गरेसँगै बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने आउने पर्यटक महभिर झरनामा भुुल्ने गर्छन् । पहिले सुनसान हुुने महभिर झरनामा भीडभाड हुन थालेको स्थानीयवासी कृष्ण पुनले बताए । पहाडको फेदीमा करिब एक सय मिटर माथिबाट खस्ने झरना निकै आकर्षक र मनमोहक छ । झरना परिसरमा पुुग्दा गर्मी याममा शितल हुुन्छ । गर्मी छल्न पनि महभिर झरना उपयुुक्त गन्तव्य हो । झरनाको फेदीमा बनाइएको पोखरीमा पौडी खेल्न र माछा मार्न सकिन्छ । झरनाको सौन्दर्यमा रमाउँदा समय बितेको पत्तै नहुुने बेनीका किरन कार्कीको अनुभव छ ।

अन्नपूूर्ण गाउँपालिकाले झरनाको फेदीमा ग्याबीन पर्खाल लगाएर पोखरी र भिरालो पाखा सम्याएर दृश्यावलोकन स्थल बनाएको छ । सडकदेखि झरनाको फेदसम्म पदमार्ग र नजिकै सार्वजनिक शौचालय निर्माण भएका छन् । बेनी जोमसोम सडकको ५० मिटर नजिकमा झरना भेटिन्छन् । सडकमा गाडी रोकेर पर्यटकले झरना अवलोकन गर्ने गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ लेकगाउँबाट बेँशी गाउँमा झर्ने नारच्याङ झरना बेनी–जोमसोम सडकको अर्को आकर्षण हो । सडकको नागढुुङ्गादेखि दुई किलोमिटर गाडी र १५ मिनेट उकालो हिँडेपछि पुुगिने नारच्याङ झरना सडकबाटै यात्राका क्रममा अवलोकन गर्न सकिन्छ । बाह्रै महिना उस्तै देखिने नारच्याङ झरनामा साँझ सूर्य अस्ताउँदा देखिने इन्द्रेणी मनमोहक देखिन्छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानास्थित बेनी–जोमसोम सडकको छेउमै रहेको रुप्से यस सडकमा यात्रा गर्ने पर्यटकको प्रमुख आकर्षण हो । अन्नपूर्ण तथा धौलागिरि हिमालको फन्को मारेर फर्केका पदयात्री तथा मुस्ताङ जाने यात्रुले सवारी साधन रोकेर यस छहारामा आराम गर्छन् । कालीगण्डकी नदीको कटानले बनाएको धौलागिरि र अन्नपूर्ण हिमश्रृङ्खला बीचको छ हजार ९६७ मिटर गहिरो खोचलाई संसारकै गहिरो गल्छी ‘अन्धगल्छी’ मानिन्छ । त्यही अन्धगल्छीमा अवस्थित रुप्से झरनामा मोहित बन्ने कवि÷कलाकारले सयौँ कविता र चित्र कोरेका छन् ।

अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले रुप्से झरनामा पूूर्वाधार निर्माण गर्न ठेक्का सम्झौता भइसकेको र अन्य झरनालाई पनि व्यवस्थित बनाउन पहल गरिरहेको जानकारी दिए । रुप्सेमा पर्यटन पूर्वाधार निर्माण गर्न ३ करोड ६५ लाख रुपैयाँ बराबरको लागत अनुमान गरिएकामा ३ करोड २३ लाख ५५ हजार ३६९ रुपैयाँमा सुन्दर निर्माण सेवा कास्कीसँग ठेक्का सम्झौता भएको छ । गत जेठ ३० गते भएको ठेक्काको म्याद विसं २०८२ पुष २५ गते सम्म छ ।

रुप्से झरनामा टिकट काउन्टर, शौचालय, झरनामा फलामको रेलिङ, भ–याङ, पदमार्ग र खाजाघर लगायतका पूर्वाधार निर्माण गरिने गाउँपालिकाका सब–इञ्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए । रुप्से झरनादेखि माथि रहेको बाजा बजाउने ढुङ्गामा पार्क, गोलघर र भ्यूप्वाइन्टसमेत निर्माण गरिने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार