चितवन । गाईवस्तुमा बाँझोपनको समस्या भएपछि यसको समाधान गर्न जिल्लामा पशु प्राविधिकले किसानको गोठमै पुगेर परीक्षण एवं उपचार थालेका छन् । पशु सेवा कार्यालयको प्राविधक सहयोग र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको समन्वयमा गाई भैंसीमा हुने बाँझोपनको परीक्षण तथा उपचार थालिएको हो ।
पशु सेवा कार्यालय चितवनका सूचना अधिकारी डा.बब्लु ठाकुरका अनुसार किसानको गोठमै पुगेर अल्ट्रासाउण्ड (भिडियो एक्सरे) गरेर गाईवस्तुको गर्भजाँच परीक्षण तथा उपचार थालिएको छ । पशुको बाँझोपन निवारणका लागि यो कार्य थालिएको उनले बताए । यसरी परीक्षण गर्दा किसानलाई पशुमा गर्भ छ वा छैन भन्ने पत्ता लगाउन महिनौँ कुर्न नपर्ने र बाँझोपन भएका पशुको उपचारमा सहज हुने उनको भनाइ छ । उनले तीनपटकभन्दा बढी कृत्रिम गर्भाधान गर्दा पनि गर्भ नरहेका गाईमा यो परीक्षण गरिँदै आएको बताए ।
रत्ननगरबाट बुधबारदेखि गाईमा हुने बाँझोपनको परीक्षण सुरु गरिएको र कालिका नगरपालिकामा परीक्षण गरिएको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले जानकारी दिए । पशु सेवा कार्यालयका प्राविधिकसहितको टोली र दुग्ध उत्पादक सहकारीका प्रतिनिधि संयुक्त रूपमा किसानका गोठमै पुगेर परीक्षण तथा उपचार गरिँदै आएको उनले बताए ।
जिल्लाका सातवटै पालिकामा पुगेर गाईवस्तुको बाँझोपन परीक्षण गरिने उनले जानकारी दिए । दुग्ध सहकारीमार्फत किसानका गाई छनोट हुने र सोहीअनुसार परीक्षण हुँदै आएको उनले बताए । उनले जिल्लाभरि १० दिनमा झण्डै तीन सय हाराहारी गाईमा परीक्षण तथा उपचार गरिने बताए । बाँझोपनको समस्या देखिएका गाईको भिडियो एक्सरे प्रविधिबाट जाँच भएको र गोठमा पुगेर निःशुल्क जाँच र औषधि उपचार पाउँदा किसान खुसी भएको अध्यक्ष्य बगालेले बताए ।
पशु सेवा कार्यालयका प्रमुख सुशील केसीले जिल्लाका दुग्ध सहकारीले सङ्कलन गरेका बाँझोपन भएका गाईको तत्थ्याङ्कका आधारमा कार्यालयबाट प्राविधिकसहितको टोली गोठमै गएर बाँझोपनको निःशुल्क परीक्षण तथा उपचार गरिँदै आएको बताए । बाँझोपन भएका गाईको परीक्षण गरी के कारणले भएको हो भन्ने पत्ता लगाएर उपचार प्रक्रिया अगाडि बढाउँदै आइएको र अन्य थप औषधोपचार गर्नुपर्ने भए किसानसँग सल्लाह गरी प्रक्रिया अगाडि बढाइने गरेको उनले बताए ।
यो अभियान १० दिनसम्म लगातार गरिने र त्यसपछि महिनाको प्रत्येक शनिबार सहकारीमार्फत समन्य गरेर परीक्षण गरिने उनले जानकारी दिए । जिल्लामा व्यावसायिक रूपमा पालिएका उन्नत जातको गाईलाई कृत्रिम गर्भाधान गरिँदै आइएको छ । प्रमुख केसीले पशुमा विभिन्न किसिमका यौनजन्य रोग तथा दानापानी नमिल्दा बाँझोपनको समस्या आउने जानकारी दिए । उन्नत पशुमा बढी बाँझोपनको समस्या देखिने भएकाले नियमित पशुको गोबर परीक्षण गरी जुकाको औषधि खुवाउने, आहारा तथा दानामा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । कार्यालयका अनुसार जिल्लामा एक लाख हाराहारीमा गाई पालिएको छ ।