लिभरपुलको विजयी यात्रा जारी

इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० गोलअन्तरले पराजित गर्दा अर्ने स्लटको सहज सुरुआत जारी रह्यो। खेलको १३औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। ब्रेन्टफोर्डले दोस्रो हाफमा केही अवसर सिर्जना गरेको थियो। तर,मोहम्मद सालाहले खेल सकिन २० मिनेट बाँकी छँदा दोस्रो गोल गर्दै ब्रेन्टफोर्डको आशालाई समाप्त गरिदिए।

एनफिल्डमा ११८ गोल गरेका सालाह लिभरपुलका पाँचौं सर्वाधिक गोलकर्ता बनेका छन्। उनी रोबी फाउलरभन्दा अगाडि बढिरहेका छन्। जुर्गेन क्लोपको स्थानमा लिभरपुलको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने क्रममा नेदरल्यान्ड्सका स्लटले दुई खेलमा शतप्रतिशत जित हासिल गरेका छन्।

लिभरपुलका कप्तान भर्जिल भान डाइकले खेलपछि भने, ‘जुर्गेनसँगको समय अद्भुत थियो र नयाँ प्रशिक्षकसँगको समय रमाइलो छ। उनीसँग खेल्ने निश्चित तरिका छ।’

सन् १९९१ मा ग्रीम सौनेसपछि लिभरपुलका कुनै पनि प्रशिक्षकले लिगका दुई खेलमा लगातार जित हात पार्न सकेका थिएनन्। ‘हामीलाई थाहा छ, लिभरपुल राम्रो टिम हो,’ ब्रेन्टफोर्डका प्रशिक्षक थोमस फ्रान्कले भने, ‘मेरो लागि म्यानचेस्टर सिटी, आर्सनल र लिभरपुल युरोपका केही उत्कृष्ट टोली हुन्। हामीले अझ बढी आशा गरेका थियौं, हामी यहाँ प्रयास गर्न र जित्नका लागि आएका थियौं। तर, सकेनौं।’

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार