सुन्दर सभापोखरी

बेलायती साहित्यकार जेम्स हिल्टनद्वारा लिखित उपन्यास ‘लस्ट होरिजन’ मा वर्णन गरिएको काल्पनिक संसारको नाम हो ‘साङ्ग्रिला’ । उपन्यासमा हिल्टनले साङ्ग्रिलालाई रहस्यमयी, सुन्दर र पृथ्वीको स्वर्गका रूपमा चित्रित गरेका छन् । सयौँ वर्ष बाँच्ने साङ्ग्रिलावासी सधैँ खुसी र सुखी रहने उपन्यासमा उल्लेख छ । हिल्टनले कल्पना गरे जस्तै साङ्ग्रिला यस पृथ्वीमा होला, नहोला तर नेपालमै केही यस्ता स्थान छन्, जो हिल्टनको साङ्ग्रिलाभन्दा कम लाग्दैन ।यसरी आफ्नो प्राकृतिक छटाले हरमानवलाई मन्त्रमुग्ध पार्ने एक साङ्ग्रिला हो सभापोखरी ।

किंवदन्ती अनुसार अठार पुराण लेखनका लागि शान्त र स्वच्छ स्थानको खोजी गर्दै जाँदा लुम्बासुम्बा हिमालको हिउँ पग्लिएको पानीको मुहान मानेर महर्षि वेदव्यास हालको सभापोखरी रहेको क्षेत्र आइपुगेका थिए । अठार पुराणको रचना पूरा गरेपछि वेदव्यासले देवता, यक्ष, गन्धर्व, किन्नर, नाग, अप्सरा आदिलाई बोलाएर ती ग्रन्थको समीक्षा गर्न बृहत् देव सभाको आयोजना गरे । यसरी वेदव्यासले देव सभा गरेको पोखरीको नाम सभापोखरी रहन गयो । अर्को किंवदन्ती अनुसार पृथ्वीमा दैत्यहरूले गर्ने विनाश रोक्न देवताले सभा बसी योजना बनाएको हुनाले सो पोखरीको नाम सभापोखरी रहेको हो । उत्पत्तिबारेका किंवदन्तीमा केही भिन्नता पाइए पनि अग्ला अग्ला चट्टाने पहाडको फेदमा रहेको सभापोखरी जति शान्त छ, झनै सुन्दर पनि । धार्मिक दृष्टिले मात्र महत्वपूर्ण नभई प्रकृतिप्रेमी पैदलयात्रीका लागि समेत यो पोखरी एउटा अत्यन्तै उत्कृष्ट गन्तव्य स्थल बनेको हो ।

सङ्खुवासभा जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित सभापोखरी पूर्वी नेपालकै प्रसिद्ध धार्मिक स्थल हो । यस विशाल प्राकृतिक पोखरीकै नामबाट गाउँपालिकाको नामकरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ५ मा पर्छ सभापोखरी । पोखरी करिब एक सय मिटर चौडा र दुई सय मिटर लामो छ । सभापोखरीबाट मकालु र कञ्चनजङ्घा हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । सभापोखरी जिल्लाका प्रख्यात सभाखोलाको उद्गम पनि हो । अग्ला अग्ला चट्टाने पहाडबिच घेरिएकाले छेवैमा पुग्दासमेत नदेखिने सभापोखरी चार हजार दुई सय मिटरको उचाइमा छ । यसको सुन्दरता वर्णन गरिसाध्य छैन ।

कसरी पुग्ने ?

सदरमुकाम खाँदबारीदेखि सडक यात्रा र केही दिनको पैदलयात्रापछि सभापोखरी पुग्न सकिन्छ । खाँदबारीबाट सभापोखरी गाउँपालिकाको धुपू, बाह्रबिसेसम्म सडक यात्रा र त्यसपछि फुकाम हुँदै सभापोखरी जाने मार्ग प्रचलित र छोटो छ तर यो मार्ग तुलनात्मक रूपमा अप्ठ्यारो छ । यसका अतिरिक्त अर्का दुई मार्गले पनि सभापोखरीसम्मको यात्रा तय हुन्छ । खाँदबारीबाट चिचिला गाउँपालिकाको देउराली, माङ्सिमा पाँचपोखरी भएर खास गरी सङ्खुवासभाको उत्तर पश्चिमी क्षेत्र तथा भोजपुरको उत्तरी क्षेत्रका तीर्थालु सभापोखरी पुग्छन् । सङ्खुवासभाको भोटखोला गाउँपालिका र सो आसपासका क्षेत्रका लागि भने भोटखोलाको किमाथाङ्का, रिदाक र तीनपोखरी मार्ग उपयुक्त हुन्छ ।

तेह्रथुमको वसन्तपुरबाट सङ्खुवासभाको चौकी हुँदै गुफापोखरीसम्म सडकमार्ग र त्यसपछि मिल्के–गिद्धे–जलजलेको पदमार्ग हुँदै सभापोखरी पुग्न सकिन्छ । यो सबैभन्दा सजिलो र चल्तीको बाटो हो । यस पदमार्ग पश्चिमतर्फ सङ्खुवासभाको मादी, चैनपुर र पाँचखपन नगरपालिका तथा पूर्वतर्फ तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका तथा ताप्लेजुङको मैवाखोला गाउँपालिकाको सीमावर्ती क्षेत्र प्रायः डाँडैडाँडा भएर अगाडि बढ्छ ।

ताप्लेजुङको अधिकांश क्षेत्रका साथै तेह्रथुम, धनकुटालगायत तराईका जिल्ला र काठमाडौँबाट जाने पदयात्री तथा तीर्थालुले यही मार्ग प्रयोग गर्छन् । यस मार्गमा जब मिल्केबाट यात्रा उकालोतर्फ अगाडि बढ्छ, अनुभूतिहरू झनै सुन्दर बनिदिन्छ । फाँटिला खर्क र गोठहरू हुँदै अनि सानाठुला अनेकन् कुण्ड र पोखरी छिचोल्दै अगाडि बढ्ने यस यात्राबाट जोकोहीले अपूर्व अनुभूति सँगाल्दछन् । बाटोमा चौँरीका बथान छिटपुट भेटिन्छन् भने भेडीगोठ माथिल्लो क्षेत्रसम्मै फेला पर्छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार