आरजु सम्मान

भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्सँग नयाँ दिल्लीमा शिष्टाचार भेट ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमण खासमा स्वास्थ्य उपचारका लागि तय भएको थियो । तर यसलाई औपचारिक भ्रमणमा परिवर्तन गर्दै त्यही हैसियतमा उनी भारत गइन् । भारतमा उनले समकक्षी भारतीय विदेशमन्त्रीसम्मलाई भेट्ने अपेक्षा गरिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न सक्ने भनिएपनि उनलाई मोदीले भेट गर्छन् भन्ने धेरैलाई विश्वास लागेको थिएन । तर नेपालमा धेरैलाई अप्रत्याशित लाग्नेगरी परराष्ट्रमन्त्री राणाले भारतमा सम्मान पाइन् । उनलाई मोदीले प्रधानमन्त्री सरहकै महत्व दिदै भेट गरे । मोदीसँग राणाको शिष्टाचार भेट भएपनि त्यहाँ उपस्थिति हेर्दा यो भेट शिष्टाचारमा मात्रै सीमित थिएन । मोदीले राणासँगको भेटमा राष्ट्रिय सुरक्षा सल्लाकारदेखि विदेशमन्त्री र नेपालका लागि भारतीय राजदुतसम्मलाई राखे ।

भारतीय प्रधानमन्त्री मोदीले महत्व दिएर प्रधानमन्त्री सरहकै भेटजस्तो तयारी गरेपनि नेपाल भने यो मामिलामा चुकेको छ । मोदीसँगको भेटमा परराष्ट्रमन्त्री राणासँग दुई सहसचिव र एकजना उपसचिवस्तरका अधिकारी मात्रै सहभागि हुनुले नेपालले यो भेटलाई सामान्यरुपमा लिएको र भेट कुन तहको सम्म हुन सक्छ भन्ने आंकलन गर्न नसकेको देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि परराष्ट्रमन्त्री राणको भ्रमणले यति उच्च महत्व पाउछ भन्ने सोचेका थिएनन् । औपचारिक भ्रमण भएपनि भारतीय विदेशमन्त्रीसम्म भेट हुने र बाँकी स्वास्थ्य उपचारमै सीमित हुने अनुमान प्रधानमन्त्री ओलीले गरेका थिए । त्यसैले ओलीले मन्त्रिपरिषद बैठकमा परराष्ट्रमन्त्री राणाले मागेको ६ जनाको प्रतिनिधिमण्डलमध्ये ३ जनाको नाम काटेका थिए ।

उदाउदो शक्तिको रुपमा रहेको भारत पछिल्लो समय छिमेकमा भने चुक्दै गइरहेको छ । दक्षिण एसियाको नेता जस्तो हैसियतमा रहेको भारतसँग सबैभन्दा धेरै असन्तुष्ट राष्ट्रहरु दक्षिण एसियामै छन् । पाकिस्तानसँग भारतको कटुतापूर्ण सम्बन्ध छ । दुवै देशबीच दुई पटक युद्ध समेत भइसकेको छ भने सीमामा हुने छिटपुट घटनाहरु अनगिन्ती छन् । दक्षिण एसियाका प्राय सबै देशमा कुनै न कुनै माध्यमबाट भारतले हस्तक्षेपकारी भूमिका निर्वाह गरेर चित्त दुखाएको छ । श्रीलंका, माल्दिभ्स, बंगलादेशदेखि नेपालसम्म भारतको भूमिकाबाट असन्तुष्ट छन् । श्रीलंका, म्यानमार, बंगलादेश र माल्दिभ्समा भारत प्रतिकुल सरकार छन् । आफ्ना छिमेकी देशहरुमध्ये भारतले नेपाललाई सबैभन्दा बढि अप्ठ्यारोमा पार्दै आएको छ । पछिल्लो पटक २०७२ सालको भूकम्पबाट आहत बनेको नेपाललाई भारतले उसको कुरा नमानेको निहुँमा अघोषित नाकाबन्दी लगायो । त्यसबाहेक नेपालका हरेक गतिविधिहरुमा भारतले माइक्रो म्यानेजमेन्ट गर्दै आइरहेको छ । यहाँ सत्तामा को टिक्ने र कसको पद कतिबेला खुस्कने भारतमा हातमा हुन्छ भन्ने आरोप वर्षौदेखि लाग्दै आएको छ । यी र यस्ता भारतीय हस्तक्षेपहरुका कारणपनि नेपालमा लामो समयदेखि आम नागरिकतहमा चरम भारतविरोधी सेन्टिमेन्ट छ । भारतको यस्तो रवैयाको पछिल्लो समय छिमेकी देशहरुमा मात्रै नभई भारतभित्रै पनि आलोचना हुन थालेको छ । छिमेकी देशहरुको आन्तरिक मामिलामा भारतले अनावश्यक हस्तक्षेप गर्ने गरेको भन्दै भारतीय प्रधानमन्त्री मोदी आलोचित हुँदै आएका छन् । पछिल्लो पटक बंगलादेशको राजनीतिक उतारचढावले पनि भारतमा मोदीको चर्को आलोचना भयो । कमजोर छिमेकी कुटनीतिका कारण देशभित्रै आलोचित बन्दै गइरहेका मोदीले नेपालसँग सम्बन्ध सुधार्न खोजेको जस्तो सन्देश दिनकै लागि पनि परराष्ट्रमन्त्री राणालाई त्यो तहको सम्मान दिएका हुन् । तर भारतले मिचेको लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका भूभाग फिर्ता नगराएसम्म र नेपाल भारत प्रबुद्ध समूह इपीजीले तयार पारेको प्रतिवेदनमा छलफल नगरेसम्म यस्ता सम्मानहरुले कुनै अर्थ राख्दैनन् ।

परराष्ट्रमन्त्रीको भारत भ्रमणबाट सबैभन्दा बढि उत्साहित कोही छन् भने ती कांग्रेस सभापति देउवा र राणा नै हुन् । आरजुलाई पार्टीभित्र स्थापित गर्ने तयारीमा रहेका देउवाले उनलाई भारत भ्रमण गराएर सम्बन्ध थप मजबुत पार्न सफल भएका छन् । त्यसबाहेक आरजु आफैले पनि आफुलाई भारत निकट रहेका सन्देश दिन सफल भएकी छन् । आन्तरिक राजनीतिमा गरिने विभिन्न अनुमान र आशंकहरुलाई मान्ने हो भने देउवा आरजुलाई प्रतिनिधिसभाको यही कार्यकालमा प्रधानमन्त्री बनाउन चाहन्छन् । यसैका लागि उनले एमालेसँग गठबन्धन गरेको र त्यही अनुसार एमालेलाई नचिढ्याउने गरी काम गरिरहेको बताइन्छ । देउवा र ओलीबीच भएको सहमति अनुसार ओलीको प्रधानमन्त्री कार्यकाल सकिएपछि देउवाले आफ्नो साटो आरजुलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने सम्भावना अधिक रहेको कांग्रेसभित्रै पनि चर्चा चल्ने गर्छ । यस्तो अवस्थामा नेपालको आन्तरिक राजनीतिमा ठाडै हस्तक्षेप र आफ्नो इन्ट्रेस्ट कार्यान्वयन गराउन सक्ने भारतसँग
यो भ्रमणबाट आरजुले कसिलो सम्बन्धलाई थप उचाई दिएको अड्कन हुन थालेको छ ।

सत्ताबाट बाहिरिएका माओवादी केन्द्रका प्रचण्ड अहिले धेरैजसो खुमलटारमै बसेर आगामी योजनाहरु बनाइरहेका छन् । पार्टीका विशेष कार्यक्रमहरु बाहेक आफ्नो भेटघाट वा छलफल खुमलटारमै गर्छन् । कांग्रेस र एमालेबीचको समिकरण भाँड्ने उपाय खोजिरहेका प्रचण्डले परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको बारेमा पनि बोलेका छन् । पार्टीका बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भारतले आरजुलाई दिएको सम्मानबाट प्रधानमन्त्री ओली झस्किएको दाबी गरे । आरजुलाई भारतमा दिएको सम्मान ओलीलाई मन नपरेको पनि उनको टिप्पणी छ । तर प्रचण्डको यस्तो अभिव्यक्ति प्रति प्रधानमन्त्री ओलीले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार