नाति पुस्तालाई परम्परागत बाजा सिकाइँदै तिलबहादुर

बाँकेको खजुरा गाउँपालिका –४ एफगाउँका खेमबहादुर विक ११ वर्षको भए । गाउँघरमा हुने विवाह पूजा, धार्मिक कार्यक्रम र अन्य कार्यक्रममा उनी आफ्ना हजुरबुवा तिलबहादुरसँगै बाजा बजाउन जान्छन् ।

एफगाउँस्थित जनकल्याण माविमा कक्षा ६ मा अध्ययनरत खेम विद्यालय बन्द भएको दिनमा गाउँघरमा हुने विभिन्न कार्यक्रममा बाजा बजाउने गरेका छन् । यसैगरी एफगाउँकै धनसिंह परियार वर्षौदेखि बाजा दमाहा बजाउँदै आएका छन् । पछिल्लो केही वर्षदेखि उनका नाति सुनिल परियार पनि उनको साथमा देखिन्छन् ।

जनकल्याण माविमै कक्षा ७ मा अध्ययनरत सुनिल विद्यालय बिदा भएको दिनमा हजुरबुवाको साथमा बाजा बजाउँदै कार्यक्रममा सहभागी हुने गरेको बताए । हजुरबुवाहरुले बाजा बजाउँदा रमाइलो लागेर आफूहरु पनि विद्यालय बन्द भएको दिनमा सँगसँगै हिंड्ने गरेको सुनिलको भनाइ छ । ‘सुरुमा रमाइलोका लागि बाजा बजाउन थालेका थियौं, अहिले विद्यालय नभएको दिनमा अभिभावकले खोजेर ल्याउनुहुन्छ,’ सुनिल भन्छन् ।

नाति पुस्तालाई दमाहा र अन्य बाजा बजाउन सिकाइरहेका ज्येष्ठ नागरिक नाति पुस्तालाई भए पनि परम्परागत बाजाको पुस्तान्तरणका लागि योगदान गर्न सकेकोमा उत्साहित छन् । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले गाउँपालिकाले परम्परागत कला, संस्कृतिको संरक्षणका लागि वार्षिक बजेट विनियोजन गरिरहेको बताए । खजुरा गाउँपालिकाको ‘ई’ गाउँ, धौलागिरी, सीतापुर लगायतका स्थानमा ज्येष्ठ नागरिकले परम्परागत संस्कृतिलाई नयाँ पुस्तामाझ सिकाइरहेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार