क्यानडाको लगातार चौथो हार

आइसीसी विश्वकप लिग टु सिरिज अन्तर्गत क्यानडाले लगातार चौथो हार बेहोरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा अमेरिकाले क्यानडामाथि ५० रनको जित हात पारेको हो ।

अमेरिकाले प्रस्तुत गरेको २ सय ७६ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडाले ४७ ओभरमा अल आउट हुँदै २ सय २५ रन मात्र जोड्न सफल भयो । क्यानडाका लागि पर्गत सिंहले ८० बलमा सर्वाधिक ७२, श्रेयस माभ्भाले ९५ बलमा ६८ रन जोडे । आदित्य भरान्दराजनले २५, ओपनर आरोन जोनसनले १०, कप्तान निकोलस किर्तनले ९ रन जोडे । अमेरिकाका लागि शाल्डि भान साक्वयले ४, जसदिप सिंह र हरमित सिंहले समान २ तथा यासिर मोहम्मद र नोस्तुश केन्जिगेले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७५ रन जोडेको थियो । अमेरिकाका लागि ओपनर स्मिथ पटेलले सर्वाधिक ७० रन जोडे । उनले ८४ बलमा ११ चौका प्रहार गरे । आरोन जोन्सले ५३ बलमा ५०, मिलान्ड कुमारले ३० बलमा ४७, स्टेभन टेलरले ७७ बलमा ४६, कप्तान मोनांक पटेलले २६ रन जोडे । क्यानडाका लागि साद विन जाफरले ३, कलिम सानाले २ र डिलोन हेलिङ्गरले १ विकेट लिए । जितसँगै ८ टोली सहभागी लिग टु मा ४ अंकका साथ अमेरिका पाँचौ स्थानमा उक्लिएको छ ।

लिग–२ अन्तर्गत यूएईको पहिलो सिरिजमा पुबुदु दासानायाकेको प्रशिक्षणमा शत प्रतिशत जित निकालेको क्यानडा उनलाई जिम्मवारीबाट मुक्त गरेपछि दोस्रो सिरिजमा भने जितविहिन बन्यो । क्यानडा ८ अंकका साथ तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स १० अंकका साथ शीर्ष स्थानमा छ । नेपाल २ अंकका साथ सातौं स्थानमा रहेको छ । शिर्ष चार टोलीले ओडिआई विश्वकप छनोटमा स्थान पक्का गर्ने छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार