काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आज (बुधबार) अन्तर्वार्ता हुँदैछ । सीईओको लागि १० जनाको आवेदन परेकोमा ५ जनालाई कार्ययोजना प्रस्तुती र अन्तर्वार्ताका लागि बोलाइएको हो ।
अन्तर्वार्तामा बालाइएकाहरुमा पूर्ण प्रसाद आचार्य, हेमन्त बस्याल, नारद कुमार लुइँटेल, बद्रीप्रसाद प्याकुरेल र चुडामणी चापागाई रहेका छन् । उनीहरुको कार्ययोजना प्रस्तुती र अन्तर्वार्ता पछि सरकारलाई तीन जनाको नाम सिफारिस गरिने छ । त्यसमध्ये एक जनालाई मन्त्रिपरिषद्ले सीईओमा नियुक्त गर्ने छ । नेप्सेको सीईओ बन्नका लागि धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १६ क बमोजिम अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर गरेको हुनुपर्छ । यस्तै चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधी हासिल गरेको व्यक्ति योग्य हुने छ ।
यस्तै पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा १५ वर्षको कार्य अनुभव पनि आवश्यक पर्छ । उच्च व्यवस्थापकीय तह भन्नाले सरकारको अधिकृतस्तरको कम्तीमा प्रथम श्रेणी वा सो सरह वा कम्पनी वा संगठित संस्थाको हकमा कार्यकारी प्रमुख वा दुई तह मातहत सम्मको व्यवस्थापकीय नेतृत्वमा रहेको हुनुुपर्छ ।