पर्यटकीय गन्तव्य बन्दै कैलाश

हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । प्राकृतिक सौन्दर्य, हावापानी र धार्मिक तथा पर्यटकीय महìवका विभिन्न स्थल रहेको कैलाशमा पछिल्लो समयमा आवागमन बढेको हो ।

प्राकृतिक गुप्तेश्वर गुफा, जिप लाइन र पर्यटकीय स्थलका कारण पछिल्लो समय कैलाश पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । कैलाश–२ स्थित वैकुण्ठको आकर्षक पार्कहरू, गुम्बालगायतका संरचना निर्माण भएसँगै धादिङ, मकवानपुर र चितवनका पर्यटकको रोजाइमा यो क्षेत्र पर्न थालेको हो ।

वैकुण्ठमा करिब एक करोड रुपैयाँको लगानीमा निर्माण भएको जिपलाइनको सफल परीक्षण भएसँगै पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने भएको छ । वैकुण्ठबाट कैलाश गाउँपालिकाको अधिकांश वडाको अवलोकन गर्न सकिने, ऐतिहासिक विष्णु कुण्ड, गुफा, तामाङ जातिको परम्परागत सांस्कृतिक सम्पदा रहेका कारण पर्यटकीय हिसाबले वैकुण्ठ निकै महत्वपूर्ण मानिएको कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । चारैतिर हिमाल र पहाडको दृश्य देखिने अग्लो पहाडको टुप्पोमा निर्माण गरिएको डाँफे र मुनालको आकर्षक प्रतिमाले यहाँ पुग्ने पर्यटकलाई मन्त्रमुग्ध बनाउने गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाको कुल २२ लाख रुपियाँको लगानीमा डाँफेमुनालपार्क निर्माण गरिएको थियो । डाँफेमुनाल पार्ककै मुनिपट्टि आकर्षक विष्णु कुण्डसमेत रहेको छ ।

अग्लो डाँडाको समथल ठाउँमा सधैँ पानी जमिरहने पोखरीलाई विष्णु कुण्डको नाम दिइएको हो । सो विष्णु कुण्डलाई संरक्षण गर्दै कुण्डको बिचमा राखिएको बौद्ध धर्मका धर्मगुरु पद्मसम्भवको आकर्षक मूर्तिले पनि पर्यटकलाई उत्तिकै लोभ्याउने गरेको छ । पालिकाले १५ लाख रुपियाँ खर्चिएर विष्णु कुण्ड निर्माण तथा पद्भसम्भवको मूर्ति स्थापना गरेको वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र घिसिङले जानकारी दिए ।

डाँफेमुनाल पार्कसँगै प्रदेश सरकारको १० लाख रुपियाँ लगानीमा वैकुण्ठ गाउँ सतीघाट संरक्षण स्थल पनि निर्माण गरिएको छ । करिब चार सय वर्षअघि वैकुण्ठमा मानवबस्ती बसाल्ने सुर्ज मुक्तानकी कान्छीपत्नी केमालोमा मोक्तानले पतिको मृत्युपछि सती गई चिहान बनाइएको ठाउँलाई संरक्षण गरी सतीघाट निर्माण गरिएको गाउँपालिका अध्यक्ष मुक्तानले बताए । गाउँपालिकाको पहलमा प्रदेश सरकारले २० लाख रुपैयाँ लगानी गरिदिएपछि डाँफेमुनाल पार्कनजिकैको डाँडामा आकर्षक डम्फु पार्क निर्माण गरिएको छ । डम्फु पार्कमा लभ पार्क र टुङ्गा पार्क बनाइएको छ । ऐतिहासिक वैकुण्ठडाँडामै गाउँपालिकाले २२ लाख रुपियाँ लगानी गरी टासीफर्पे छो र्‍यालिङ गुम्बा निर्माण गरिएको छ । गुम्बामा मूर्ति प्रतिस्थापन गरी केही समयअघि मात्रै सञ्चालनमा ल्याइएको छ ।

मकवानपुरको पर्यटकीय नगरी पालुङबाट करिब तीन घण्टाको कच्ची सडकको यात्रापछि कैलाशको वैकुण्ठ पुग्न सकिन्छ । त्यस्तै धादिङ जिल्लाको मलेखु र आदमघाटबाट पनि वैकुण्ठ पुग्ने सडक बनिसकेको छ । राक्सिराङ गाउँपालिकाको खैराङबाट पनि वैकुण्ठसम्म पुग्न सकिने गरी सडक निर्माण भइसकेको छ । हिउँदयाममा मकवानपुरको मनहरीबाट करिब साढे २ घण्टामै वैकुण्ठडाँडा पुग्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार