काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन सोमबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन पनि घटेर कारोबार भएको सेयर बजार आज १० दशमलव १४ अंकले घटेर बन्द भएको हो ।
सोमबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७०४ दशमलव ७० विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १४५ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ८५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ९५ अंकले घटेर ४५३ दशमलव ९५ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ४ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने ८ वटा उपसूचकको सेयर मूल्य घटेको छ । त्यस्तै एउटा उपसूचकको सेयर मूल्य भने स्थिर रहेको छ ।
परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ । आज सेयर बजारमा ३३१ कम्पनीका ९९ लाख ३५ हजार ८७२ कित्ता सेयर ५७ हजार ५८५ पटक खरिद बिक्री हुँदा ५ अर्ब ४० करोड ८३ लाख १४ हजार ७५ रुपैयाँको कारोबार भएको छ ।
दुई लघुवित्त, दुई हाइड्रोपावर र एक विकास बैंकका सेयरधनीले धेरै कमाए
सोमबार सेयर बजार दोहोरो अंकले घटेर कारोबार बन्द हुँदा जम्मा ८५ कम्पनीको सेयर मूल्य बढेको छ । ८५ कम्पनीमध्ये धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा दुई लघुवित्त, दुई हाइड्रोपावर र एक विकास बैंक रहेका छन् ।
आज सेयर बजारमा हाइड्रोपावर तर्फ राप्ती हाइड्रो एण्ड जनरल कन्टक्सन लिमिटेड र इस्र्टन हाइड्रोपावर तथा लघुवित्तमा सामुदायिक लघुवित्त र मानुषी लघुवित्त रहेका छन् । त्यस्तै विकास बैंकमा ग्रिन डेभलपमेन्ट बैंक रहेका छन् । आज राप्ती हाइड्रो एण्ड जनरलको सेयर मूल्य ९.८६ प्रतिशत अर्थात् ५७ रुपैयाँले बढेर ६३५ रुपैयाँ पुगेको छ । त्यस्तै आज इस्र्टन हाइड्रोपावरको सेयर मूल्य २५ रुपैयाँले बढेर ७९१ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ३.२६ प्रतिशतले धेरै हो ।
त्यस्तै आज सामुदायिक लघुवित्तको सेयर मूल्य १९२ रुपैयाँले बढेर २ हजार ५८२ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.०३ प्रतिशतले धेरै हो । आज मानुषी लघुवित्तको सेयर मूल्य ४.१३ प्रतिशत अर्थात् ७६ रुपैयाँ ९० पैसाले बढेर १ हजार ९३८ रुपैयाँ पुगेको छ । ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य आज ६७ रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.३३ प्रतिशतले धेरै हो ।
धेरै मूल्य घटेका यी हुन शीर्ष ५ कम्पनी
सोमबार सेयर बजारमा १४५ कम्पनीको सेयर मूल्य घटेर कारोबार भयो। परिसूचक दोहोरो अंकले घटेको दिन धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा महालक्ष्मी विकास बैंक, घलेम्दी हाइड्रोपावर, विशाल बजार कम्पनी, एनआईसी एशिया ग्रोथ फण्ड–२ र विन नेपाल लघुवित्त रहेका छन् ।
आज महालक्ष्मी विकास बैंकको सेयर मूल्य २४ रुपैयाँले घटेर ४२० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.४१ प्रतिशतले कम हो । त्यस्तै आज घलेम्दी हाइड्रोपावरको सेयर मुल्य ४.५८ प्रतिशत अर्थात् १४ रुपैयाँ ३० पैसाले घटेर २९७ रुपैयाँ ७० पैसा पुगेको छ ।
त्यस्तै आज विशाल बजार कम्पनीको सेयर मूल्य २०९ रुपैयाँले घटेर ५ हजार २९१ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.७३ प्रतिशतले कम हो । आज एनआईसी एशिया ग्रोथ फण्डको सेयर मूल्य पनि ३.४४ प्रतिशत अर्थात् ०.३१ रुपैयाँले घटेर ८ रुपैयाँ ६९ पैसा पुगेको छ । आज विन नेपाल लघुवित्तको सेयर मूल्य ९६ रुपैयाँले घटेर २ हजार १०४ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३ प्रतिशतले कम हो ।