म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माणा गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत्को बाँध पहिराको जोखिममा परेको छ । रघुगङ्गा गाउँपालिका वडा नम्बर ४ दग्नाम र ५ झिँको फेदीमा धौलागिरि हिमालको फेदीबाट बगेर आउने राहुघाट नदीको पानीलाई थुनेर सुरुङमा छिराउन निर्माणको अन्तिम चरणमा पुगेको बाँध पहिरोको जोखिममा परेको हो ।
दग्नाम गाउँको फेदीमा सिर्जना भएको नयाँ पहिरो राहुघाट जलविद्युत् आयोजनाको बाँधको सीधा माथि छ । गएको वर्षको बर्खामा त्यही पहिरोबाट आएको गेगर निर्माणाधीन बाँधमा थुप्रिएर क्षति पुुगेको थियो । पहिरोले माथि रहेको दग्नाम गाउँ र फेदीको बाँधलाई जोखिम बनाएको छ । आयोजनाका प्रमुख राजबहादुर विष्टले पहिराको नियन्त्रणका लागि अध्ययन थालिएको बताए । १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त प्रविधिको बाँधसँगै राहुघाट नदीको दायाँ किनारमा पानी थिग्राउने पोखरी निर्माणाधीन छन् ।