काठमाडौं । नेपाल कमर्स क्याम्पस मिनभवन (एनसीसी) मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुबाट निराजन भट्टराई बलियो दाबेदारका रुपमा देखिएका छन् । विगत लामो समयदेखि विद्यार्थीको हकहतिमा काम गर्दै आएका भट्टराई आगामी चैत ५ गते हुने निर्वाचनको बलियो दाबेदारका रुपमा देखिएका हुन् ।
क्याम्पसका आम विद्यार्थीमाझ परिचित, सरल स्वभावका भट्टराई विगत ८ वर्ष देखि विद्यार्थीका समस्या समाधान तथा हकहतिका लागि निरन्तर काम गर्दै आएका विद्यार्थी नेता हुन् । पूर्वी नेपालको ओखलढुङ्गाको लिखु गाउँपालिकाबाट उच्च शिक्षा हासिल गर्नका लागि काठमाडौं आएका उनी हाल एनसीसी कलेजमा एमबीएस पहिलो सेमेष्टरमा अध्ययनरत छन् ।
‘पहिलेदेखि नै विद्यार्थीको हकहितमा काम गर्दै आएको छु । स्ववियु भनेको विद्यार्थीको हकहितकै लागि काम गर्ने संस्था हो । त्यसले गर्दा स्ववियु सभापति (अध्यक्ष) भएर विद्यार्थीको हकहितलाई अझ प्रभावकारी रुपमा उठाउने छु,’ उनले भने । विद्यार्थीका समस्याका सवालमा र आम विद्यार्थीमाझ परिचित भएकाले स्ववियु निर्वाचनमा आफू विजयी हुने आधार भएको उनको भनाइ छ । भट्टराई अनेरास्ववियुको पूर्व क्याम्पस कमिटिका सहसचिव समेत हुन् । अध्ययनशिल र विद्यार्थीमाझ परिचित भएकाले उनी उम्मेदावर बन्दा सहज रुपमा विजय हासिल गर्न सक्ने विद्यार्थीहरुले बताउने गरेका छन् ।