सिर्दिबासको बगरमा पतेरा टिप्नेको भीड

गोरखा । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दिबासको बगरमा पतेरा (किरा) टिप्नेहरुको भीड लागेको छ । आज बिहानदेखि गाउँमा एकाएक पतेरा आएपछि टिप्नेहरुको भीड लागेको स्थानीय कुमारी गुरुङले बताइन् ।

‘सिर्दिबास र फिलिम जोड्ने पुल मुनि आज बिहानदेखि पतेरा देखापरे, त्यसपछि गाउँलेहरु एकाएक टिप्न गए’, उनले भनिन्, ‘बगरमा पतेरा किनबेचसमेत हुन थालेको छ । बिहान प्रतिकिलो रु दुई हजारमा किनबेच भएकामा दिउँसो प्रतिकिलो रु तीन हजारमा कारोबार भयो ।’ उक्त पतेरा कसले, कहाँ र के प्रयोजनका लागि लैजान लागेको हो भन्नेबारे केही थाहा नभएको गाउँलेको भनाइ छ । उनका अनुसार एक जनाले दुईदेखि तीन केजीसम्म पतेरा टिपेका छन् । सो वडाका वडाअध्यक्ष रामकुमार गुरुङले पनि गाउँको बगरमा एकाएक पतेरा आएपछि गाउँलेहरु टिप्न गएको बताए ।

‘यसरी मान्छेहरु गएका छन् भन्ने कुरा दिउँसो मात्र थाहा पाएँ तर किन र कहाँ लैजाने भन्नेबारे पत्ता लगाउन सकेको छैन’, उनले भने । टिप्न जानेहरुले तरकारी हुन्छ रे भनेर सुनाएको उनले बताए । यस विषयमा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)मा समेत जानकारी गराइएको छ । यसक्षेत्रमा ठूलो सङ्ख्यामा पतेरा आएको पहिलो पटक भएको वडाअध्यक्ष गुरुङ बताए । ‘पहिला गाउँमा खुसार्नीका बोटमा एक–दुई वटा पतेरा लागेको थाहा थियो, अहिले बूढीगण्डकीको किनारभरि पतेरा छ । कहाँबाट आयो थाहा भएन’, उनले भने ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार