पत्रकार मिङमा शेर्पा सम्मानित

काठमाडौं । शेर्पा संघ अमेरिकाले पत्रकार मिङमा शेर्पालाई सम्मान गरेको छ । पत्रकारितामार्फत शेर्पा जातिको पहिचान, सभ्यता र इतिहासको प्रबद्र्धनमा योगदान पुर्याएको भन्दै शेर्पालाई सम्मान गरेको हो ।
संघको बार्षिक कार्यक्रम अन्तर्गत रेडियो नेपालमा कार्यरत शेर्पालाई नगद २५ हजारसहित सम्मान पत्रद्धारा सम्मान गरिएको पत्रकार सोनाम याङजी शेर्पाले जानकारी दिए ।
‘२१५२ सिङ मो डुल लो ग्याल्पो लोसार’ अवसरमा नेपाल शेर्पा संघले आयोजना गरेको शुभकामना आदानप्रदान तथा छ्योङ्गुलपान (चियापान) कार्यक्रमको अवसरमा पत्रकार शेर्पालाई सम्मान गरेको हो । पत्रकार शेर्पालाई आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले सम्मानपत्र र नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पाले खादाद्धारा सम्मान गरेको नेपाल शेर्पा संघका कोषाध्यक्ष आङकाजी शेर्पाले जानकारी दिए ।
लामो समयदेखि रेडियो नेपालमा शेर्पा भाषाको कार्यक्रम र समाचार बाचन गर्दै आउनुभएका शेर्पाले शेर्पा भाषाको विकास, संरक्षण र प्रबद्र्धनका लागि योगदान दिँदै आउनुभएको छ । शेर्पालाई यसअघि शेर्पा पत्रकार संघ नेपालले बर्ष शेर्पा पत्रकारको रुपमा समेत सम्मान गरेको थियो ।
सम्मान ग्रहणपछि पत्रकार शेर्पाले आफूले समाज र समुदायका लागि गरेको योगदानको मूल्याङ्कन भएको भन्दै शेर्पा संघ अमेरिका र नेपाल शेर्पा संघलाई धन्यवाद व्यक्त गरे । सम्मानले समुदायका हितका लागि अझ शसक्त रुपमा कलम चलाउन आफूलाई प्रेरणा मिलेको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार