काठमान्डौ , नेपाल शेर्पा संघले २१५२ औं ‘सिङ मो डुल लो’ ग्याल्पो लोसारको अवसरमा संघीय अध्यक्ष गेल्जे लामा शेर्पाको अध्यक्षतामा छ्योङ्गुलपान (चियापान) कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर मगर, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, पूर्वमन्त्री आङ छिरिङ शेर्पा, संविधानसभा सदस्य जिपछिरिङ शेर्पा, आङ दावा शेर्पा, नगेन्द्र कुमाललगायतको उपस्थिति रहेको थियो।
महासचिव लाक्पा शेर्पाका अनुसार, कार्यक्रममा शेर्पा समुदायका विशिष्ट व्यक्तित्वहरू, संघसंस्थाका प्रतिनिधिहरू र विभिन्न जातीय संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। ओखलढुंगा पात्ले किदुगका कलाकारहरूले गीतमार्फत अतिथिहरूलाई स्वागत गरेका थिए।

वक्ताहरूले आफ्नो पहिचान, सभ्यता र इतिहासको संरक्षणका लागि एकजुट हुनुपर्नेमा जोड दिएका थिए। नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले आदिवासी संस्कृतिको जगेर्ना गर्दै परिष्कृत रूपमा अघि बढाउनुपर्ने धारणा राखे। किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द अङदेम्बेले मुकुमलुङ क्षेत्रमा राज्यले गरेको ज्यादती र व्यापारीकरणको विरुद्ध सबै मिलेर प्रतिवाद गर्नुपर्नेमा जोड दिए।
नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राईले गाईको संरक्षण गर्ने राज्यले लालीगुराँस मास्न लगाएर अन्याय गरेको भन्दै आक्रोश व्यक्त गरे। नेपाल बौद्ध ञिङमा संघका अध्यक्ष आचार्य नुर्बु शेर्पाले सबै लोसारलाई एउटै मान्दै बुद्ध लोसारको रूपमा मनाउनुपर्नेमा जोड दिए। प्राध्यापक पासाङ शेर्पाले आदिवासीको मौलिक संस्कृतिलाई पाठ्यक्रममा समावेश गरी संरक्षण गर्नुपर्नेमा जोड दिए।
पूर्वमन्त्री आङ छिरिङ शेर्पाले आदिवासीहरूले नेतृत्व नलिएसम्म मुलुक बन्न नसक्ने भन्दै पहिचानको आन्दोलनलाई निष्कर्षमा पुर्याउनुपर्ने विश्वास व्यक्त गरे। प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले आदिवासीहरूको मौलिकता जोगाउन आफ्नो क्षेत्रबाट पहल भइरहेको र जातीय संस्थाहरूको सहयोगमा अझ प्रभावकारी योजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
संघका अध्यक्ष गेल्जे लामा शेर्पाले ‘नो कोशी’ र मुकुमलुङको आन्दोलन आदिवासीहरूको प्रतिष्ठाको विषय भएकाले सबै एकजुट भएर आन्दोलनलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए। कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष ङावाङ सोनाम शेर्पाले स्वागत मन्तव्य राखेका थिए।