च्याम्पियन्स ट्रफी : भारतको लगातार दोस्रो जीत, पाकिस्तान ६ विकेटले पराजित

काठमाडौं । च्याम्पियन्स ट्रफीमा पाकिस्तानलाई हराउँदै भारतले लगातार दोस्रो जीत हासिल गरेको छ । हिजो भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको लक्ष्य भारतले ४२ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

भारतको जितमा विराट कोहलीले नट आउट रहँदै सर्वाधिक १०० रन जोडे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ तथा अबरार अहमद र खुसदिल साहले समान १ विकेट लिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९ ओभर ४ बलमा २ सय ४१ रनमा समेटियो । पाकिस्तानका लागि सउद सकिलले सर्वाधिक ६२ रन जोडे । भारतका लागि कुलदिप यादवले ३, हार्दिक पाण्ड्याले २ तथा हर्षित राना, अक्षर पटेल र रविन्द्र जडेजाले समान १ विकेट लिए ।

भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल यूएईमा भइरहेका छन् । यसअघि भारतले बङ्गलादेशलाई पनि ६ विकेटले पराजित गरेको थियो । च्याम्पियन्स ट्रफीमा भारत दुई खेलमा अपराजित रहँदै ४ अङ्कका साथ समूह ‘ए’ को शीर्ष स्थानमा छ । पाकिस्तान २ खेलमा अङ्कविहीन रहँदै समूह ‘ए’ को पुछारमा छ । प्रतियोगितामा आज बङ्गलादेश र न्युजिल्याण्ड खेल्दैछन् । पाकिस्तानको रावलपिन्डिमा हुने खेल दिउँसो पौने ३ बज शुरू हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार