काठमाडौं । नेपाली बाजारमा सुनचाँदीको मूल्य क्रमिक रुपमा उकालो लागिरहेको छ । पछिल्लो २ महिनायता सुन लगातार महंगिरहेको हो ।
यो साता सुन तोलामा २ हजार ५०० रूपैयाँले वृद्धि भएको छ । साताको पहिलो दिन, आइतवार सुन प्रतितोला १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार प्रतितोला १ लाख ६८ हजार ७०० रूपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख ६९ हजार ४०० रूपैयाँ र बुधबार १ लाख ७० हजार ५०० रूपैयाँमा खरिदबिक्री भयो । तर, बिहीबार भने सुन यो साताकै उच्चस्तरमा पुगेर तोलाको १ लाख ७१ हजार रूपैयाँ पुग्यो । तर, साताको अन्त्यमा शुक्रबार सुन सस्तिएर तोलाको १ लाख ७० हजार रूपैयाँमा झर्याे ।
यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । आइतवार प्रतितोला १ हजार ९५५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य साताको अन्त्यमा मुल्य प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ । यो मूल्य साताको पहिलो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँले बढी हो ।