काठमाडौं । ओपनर विल योङ र टोम लाथमको शतक प्रेरित न्युजिल्याण्डले च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो खेलमा पाकिस्तानलाई ३ सय २१ रनको लक्ष्य दिएको छ । पाकिस्तानको कराँचीस्थित नेशनल क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २० रनको बलियो योगफल तयार गरेको हो ।
न्युजिल्याण्डका लागि लाथमले नट आउट रहँदै सर्वाधिक ११८ रन जोडे । त्यस्तै योङले १०७ रन जोडे । पाँचौ विकेटका लागि लाथम र ग्लेन फिलिप्सले १ सय २५ रनको शतकीय साझेदारी गरे । फिलिप्सले ३९ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय पारी खेले । डेभेन कन्वे र ड्यारिल मिचेलले समान १० रन जोड्दा केन विलियम्स १ रनमा आउट भए ।
पाकिस्तानका लागि नशिम साहले २, अबरार अहमद र हरिस रउफले समान १ विकेट लिए । च्याम्पियन्स ट्रफी खेल्न भारतीय टोली पाकिस्तान नजाने भए पछि प्रतियोगितामा भारतले आफ्नो सबै खेल युएईमा खेल्नेछ । दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसिय विश्व कपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा छन् । अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह बी’ मा छन् । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । फाइनल फागुन २५ गते (९ मार्च) हुनेछ ।