‘सम्पूर्ण शेर्पाहरुको चाहना, पहिचान र अधिकार सहितको शेर्पालुङ्गको स्थापना’

लोसार की टासिदेलेक
२१५२ शिङ मो डुल लो ग्याल्पो लोसार (༢༡༥༢ ཤིང་མོ་སྦྲུལ་ལོ། ) को हार्दिक
(लोसारको शुभकामना)

༄། །བལ་ཡུལ་ཤར་པ་སྤྱི་ཚོགས།
नेपाल शेर्पा संघ
संघीय कार्यसमिति, नारायणटार (शेर्पा भवन) काठमाडौं

ग्याल्पो लोसार

ग्याल्पो लोसारको शाब्दिक अर्थ मूख्य÷प्रमुख भन्ने अर्थ हुन्छ । यो हिमाली वौद्ध पात्रो अनुसार १२ महिना अन्त्य भई पहिलो महिना ‘छ्यू दावा’को पहिलो दिनमा पर्दछ अर्थात यो फाल्गुन प्रतिपदका दिन पर्दछ । फाल्गुन शुक्ल पूर्णिमापछि बर्षारम्भ हुन्छ । बर्षको पहिलो ऋतु बसन्त हो भन्ने वैदिकहरुकाा भनाई पनि पाइन्छ । हिमाली वौद्ध पात्रो अनुसार पहिलो महिनाको पहिलो दिनमा ग्याल्पो लोसार पर्ने हुँदा यसैबाट नयाँ लो (वर्ग) र संवत परिवर्तन हुने भएकाले नयाँबर्ष वा लोसार मानिएको पाइन्छ । नयाँबर्ष २१५२ शिङ मो डुल लो ग्याल्पो लोसार (༢༡༥༢ ཤིང་མོ་སྦྲུལ་ལོ། ) हामी मनाउन गइराखेका छौं ।

परम्परागत विधि

लोसार मनाउने विधि, पूर्व तयारी, कार्यान्वयन र समापन गरी तीन चरणमा विभाजन गरेको पाइन्छ । लोसार शुरु हुनुभन्दा डेढ महिना अगाडी नै शुभ साइत हेरी लोसारको सगुनको लागि चाहिने पेय पदार्थ तयार गर्ने परम्परा छ । त्यस्तै, पन्ध्र दिन अगाडी नै गमला वा गमला जस्तै भाडोमा नयाँ पालुवाका लागि उवा, जौ, मकै र गहुँ मिसाएर च्याङमा (जमरा) उमारिन्छ । साथै, घरआँगन, गाउँटोल, बाटोघाटो, चोकचौतार आदिको सरसफाइ, रंगरोगन, लिपपोत गर्ने चलन छ । परिवारका सदस्यहरुका लागि नयाँ बस्त्र (नौफेरा) खरीद गर्ने, विशेष प्रकारको खानेकुरा सप्से (रोटी) बनाउने र घरबाट टाढा रहेका अन्य परिवारका सदस्यहरु घर आगमन शुरु हुन्छ ।

गुथुक खाने परम्परा

लोसार शुरु हुन दुई दिनअघि अर्थात १२ औं महिनाको औंसीको अघिल्लो (यस बर्ष फागुन १५ गते) वा ङिश््यु गुका दिन आफ्ना घरभित्र र घर वरिपरि सरसफाइ गरी निस्किएको फोहोर, पुराना लुगाफाटा केही सिक्का, नुन, खुर्सानी नाङलामा राखी तीनवटा बाटोको संगम भएको स्थानमा लागेर फाल्दा दशाग्रह जाने र घरम शुभलक्षण भित्रने विश्वास गरिन्छ । त्यस्तै, गुम्बाहरुमा लामा गुरुहरुले पूजापाठ गरिन्छ । त्यसदिन साँझ गुथुक (थुक्पा) परिकार खाने चलन छ । गुथुक भन्नाले गु (नौ) थुक (मिश्रण) अर्थात नौ प्रकारको विभिन्न खाद्यवस्तु मिश्रण गरी बनाइएको खाने प्रचलन छ । यो परिकारमा नौ प्रकारका खाद्यवस्तु विभिन्न आकृतिमा र विभिन्न प्रतिकका रुपमा बनाइएको हुन्छ । जसलाई नयाँ बर्षको भाग्य परीक्षणका रुपमा लिइन्छ । जसको भागमा जुन प्रतिक पर्छ सोही अनुसार फल मिल्छ भन्ने मान्यता छ ।

जस्तैः सूर्य–तेजप्रताव बढ्ने, चन्द्र–प्रसिद्धी बढ्ने, तोर्मा–इमान्दारिता, धर्मशास्त्रको ठेलीले विवेकशील बन्ने, चारपाटे आसनले आनन्दित हुने, पृथ्वी–सम्पन्न बन्ने, तारा–छुच्चो हुने, खुर्सानी–चलाख हुने, कोइला–मन कालो हुने, डमरु–मन चञ्चल हुने जस्ता कुरा गर्दै मनोरञ्जनपूर्वक पुरानो बर्षलाई विदा गर्ने प्रचलन छ । गुथुकको भोली पल्ट अर्थात औंसीको दिन (यस बर्ष फागुन १६ गते) पूजा कोठमा पहिला तयार पारिएको याङछाङ अर्थात छयाङ (जाँड), छिमार, जमरा, खप्से, मिठाई, फलफुल लगायत अन्य खाद्यवस्तु मिसाएर सजाइन्छ । याङछाङ भनेको अमृतका रुपमा वितरण गरिने जाँड (छ्याङ) हो । खप्से भनेको मैदामा चिनी, नुन, दूध, घ्यू मिसाएर विभिन्न आकारमा बनाएको एक प्रकारको रोटी हो । छिमार भनेको सातुमा नौनी घ्यू, मह, चिनी दूध मिसाएर बनाएको प्रसाद हो ।

लोसारको पहिलो दिन सोही दिननै यस बर्ष औंसीपनि (यसबर्ष फागुन १६ गते) सबेरै उठेर नुहाईधुवाई गरी नयाँ लुगा लगाएर कुवा, धारामा गई नागको पूजा गरी धारामा घ्यूको टीका लगाई खप्से, खादा, फलफुल चढाई धुपवत्ती बालेर ढोगेर नाग देवतालाई खुसी पार्ने गरिन्छ । पूजापछि धाराबाट चोखो पानी ल्याई पूजा कोठा अर्थात छोसुम (त्रिरन्तलाई पूजा गर्न बनाइएको विशेष स्थान) मा भगवान बुद्ध वा कुल देवताहरुलाई खुसी बनाई शुद्ध पानी, खप्से लगायत चढाएर टाशी मोलम अर्थात मंगलबाचन गर्दै नयाँ बर्ष (लोसार) शान्तिमय वातावरणमा वितोस् भनी पूजा आराधना गर्दछन् । त्यस्तै, घरको छाना र आँगनमा पञ्चरङ्गी ध्वजापताका फहराएर ‘‘किकी सो सो ल्हा ग्यलो’’(सुख होस्, देवताको जय होस्) भनि पुकारिन्छ ।

पूजापाठ सकिएपछि लोसारमा बनाइएको परिकार चिया, खप्से, छङग्युल, छिमार, डेसिल खाँदै लोसारको शुभकामना आदानप्रदान गर्छन अर्थात विशेष गरेर यस दिन आ–आफ्नो गुरुहरुलाई दर्शन गरी आशिर्वाद ग्रहण गर्ने, परिवारमा रमाइलो गरि विताउने गरिन्छ । दोस्रो दिन (यसबर्ष फागुन १७) ग्याल्पो ल्होसार दोस्रो दिन अर्थात् द्वितीया तिथिमा मानिसहरू गोन्पा र सार्वजनिक स्थलमा भेला भएर एकअर्कालाई “टासीदेलेग” भन्दै शुभकामना आदानप्रदान गर्छन् । आफ्नो मौलिक भेषभूषामा सजिएर मिठा खानेकुरा बाँड्ने, मान्यजनसँग आशीर्वाद लिने परम्परा छ । यसदिनबाटै इष्टमित्र छरछिमेकसँग रमाइलो वातावरणमा लोसार मनाउने, भोजभतेरमा सहभागि हुने क्रमको शुरुवात भई १५ दिनसम्म चली रहन्छ ।

तेस्रो दिन (फागुन १८) धर्मपालाको ल्होसार (छ्योक्योङ) तेस्रो दिन तृतीया तिथिमा गोन्पा र बौद्ध तीर्थस्थलमा गएर दीर्घायू तथा विघ्न–बाधा हटाउने पूजा गरिन्छ । त्यस्तै, बालीनाली राम्रो होस्, झैंझगडा नहोस्, प्राकृतिक विपती आइनपरोस भनेर पथाना गर्ने प्रचलनपनि छ । खास गरी काठमाडौं उपत्यकामा बसोवास गर्ने शेर्पाहरुले शेर्पा गुम्बा (शेर्पा सेवा केन्द्र) मा भेला भई पूजामा सहभागि भई २/३ महिना अगाडीदेखि एक समूह बनाई ल्हप्सो पूजाको तयारी गरिन्छ ।

यस्तो समूह ल्हप्सो पूजा सकेकै दिन विगठन हुन्छ भने अर्को बर्षका लागि नयाँ समिति गठन हुन्छ । ल्हप्सो पूजाका लागि स्वऐच्छिक रुपमा आर्थिक सहयोग संकलन गरी संकलित सहयोगबाटै पूजामा सहभागिहरुका लागि चिया, ड्यासिल, खप्से, पेय पदार्थ आदि खुवाइन्छ । ल्हप्सो पूजाका दिन सबै शेर्पा तथा लोसारप्रेमीहरु मौलिक पोशाकमा सजिएर उपस्थित हुने गर्दछन् । सोही दिन हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको अगुवाईमा र्याली आयाजना गर्ने गरिन्छ । शेर्पा समुदायमा नेपाल शेर्पा संघले लोसार सामान्य शुभकामना आदानप्रदान र छ्याङग्युलपान कार्यक्रम (यस बर्ष फागुन १४ गते) आयोजना गरिन्छ भने सांस्कृतिक केन्द्र, विद्यार्थी, किदुग लगायतले वृहत रुपमा प्रतियोगिताहरु सहित औपचारिक कार्यक्रम लोसारको अवसरमा आयोजना गर्दै आएका छन् ।

दशौं दिन (यसबर्ष फागुन २५) गुरु रिन्पोछेको तिथीमा दानपुण्य गर्ने र पन्ध्रौं दिन (यस बर्ष चैत्र १ गते) भगवान बुद्धले रिद्धी शक्ति प्राप्ती गरेको दिन रहेकाले विजयी उल्लासपूर्वक मनाउने गरिन्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार