हलेसी आगलागीको कारण ग्यास सिलिन्डर लिक, ७ करोड ३० लाख बढीको क्षति

खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागीमा ७ करोड ३० लाख रुपैयाँ बढीको क्षति भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदमशेर राईको भान्छा कोठाबाट गएराति सुरू भएको आगोले चारवटा घर, तीनवटा होटल, एउटा हार्डवेयर पसल, लघुवित्तको कार्यालयलगायत जलेर नष्ट भएको हो ।

आगलागीमा पदमशेरको काठ र जस्तापाताले बनेका तीनतले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोस्रो तलामा सञ्चालित निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालयलगायत सामग्री जलेर नष्ट हुँदा करिब ४ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हीराधन राईले जानकारी दिए ।

निमित्त प्रमुख जिल्ला अधिकारी राईका अनुसार स्थानीय आइराख राईको न्यू–कल्याण होटल, चारतले पक्की घर र घरको पछाडिपट्टि दुईतले काठको घर गरी रू दुई करोड ५० लाख बराबरको क्षति भएको छ । साँझ करिब ७ बजेदेखि सुरू भएको आगलागीमा परेर स्थानीय प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामको ट्रसले बनेको एकतले भान्छा घर र दुईतले पक्की घरमा आंशिक क्षति हुँदा रू ३० लाख बराबरको क्षति भएको जनाइएको छ । आइराख राईको घरसँगै जोडिएको भरणशेर राईको पारूहाङ होटल, चारतले पक्की भवनको दोस्रो र तेस्रो तलामा आंशिक क्षति हुँदा अन्दाजी रू ५० लाख बराबरको भएको छ ।

आगलागीमा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनसम्पत्ति तथा भौतिक सामग्री जलेर नष्ट भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । ‘आगलागी नियन्त्रण गर्न बेलैमा सबैको सहयोग उपलब्ध भयो । रातको समयमा भए पनि मानवीय क्षति हुनबाट जोगाउन सफल भयौँ’, उनले भने, ‘आगलागी पीडितका लागि राहत उपलब्ध गराउन विभिन्न निकायसँग समन्वय गरिरहेका छौँ । सङ्कलित राहत एकद्वार प्रणालीमार्फत वितरण गर्ने सर्वपक्षीय निर्णय गरिएको छ ।’

आगो नियन्त्रणमा रणभीम गण मुढे ब्यारेक, सशस्त्र प्रहरी बल ७ नं वाहिनी हलेसी गुल्म, नेपाल प्रहरी, जिल्ला प्रशासन, स्थानीय तह, स्थानीयलगायत गरी करिब ५०० जना खटिएका थिए । स्थानीय पदमशेर राईको ग्यास पसल नजिकै रहेको भान्छा कोठाबाट आइतबार साँझ करिब ७ बजेतिर सुरू भएको आगो साढे चार घण्टापछि साढे ११ बजेतिर नियन्त्रणमा आएको थियो । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीमा भएको आगलागी नियन्त्रणमा लिनका लागि पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए । हिन्दू, बौद्ध किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी बजारमा भएको आगलागीका घटनालाई दमकल अभावका कारण समयमै नियन्त्रण गर्न नसक्दा ठूलो क्षति भएको हो ।

हलेसी बजारमा भएको आगलागी सबैको सहयोगले तत्कालै नियन्त्रणमा लिन सफल भएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिइन् । ‘नगरपालिकामा दमकल छैन । दमकल नहुँदा आगलागी नियन्त्रणमा निकै समस्या भयो । तर, उपलब्ध स्रोत र साधन प्रयोग गरेर करिब साढे ४ घण्टापछि आगो नियन्त्रणमा लिन सफल भयौँ’, उनले भनिन्, ‘आगलागीमा ठूलो क्षति भएको छ । क्षति भए जति त आगलागी पीडितलाई राहत उपलब्ध गराउन सक्दैनौँ । यद्यपि, गृहमन्त्री, सम्बन्धित मन्त्रालयलगायतसँग समन्वय भइरहेको छ । आगलागी पीडितका लागि चाँडै मलमपट्टि लगाउने प्रयास गरिरहेका छौँ ।’

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार