एनएलजी इन्स्योरेन्सको खुद नाफा ७ करोड ४५ लाख रुपैयाँ

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १४.९० प्रतिशतले घटेको हो । गत वर्ष कम्पनीले ८ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । कम्पनीको प्रतिशेयर आम्दानी गत आवमा १२ रुपैयाँ रहेकोमा चालु आवमा घटेर ९ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

खुद नाफा घटे तापनि कम्पनीको आम्दानी र खुद बीमाशुल्क आर्जन भने वृद्धि भएको छ । कम्पनीको आम्दानी गत आवमा ५५ करोड ३० लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ६७ करोड रुपैयाँ नाघेको छ । त्यस्तै कम्पनीको खुद बीमाशुल्क आर्जन गत आवमा ३१ करोड ३५ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४४ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ३५ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा ८ करोड रुपैयाँ र महाविपत्ति कोषमा पनि ८ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ । गत आवमा कम्पनीको निर्जीवन बीमा कोषमा २ अर्ब ८५ करोड रुपैयाँ रहेकोमा चालु आवमा बढेर ३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २ सय ४ रुपैयाँ ८३ पैसा रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार