काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडल (एलआईसी) को नाफा सामान्य बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा गत आवको सोही अवधिको भन्दा ३.८१ प्रतिशतले बढेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा १४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १३ करोड ६६ लाख रुपैयाँ रहेको थियो । चालु आवमा कुल आम्दानीसँगै खुद बीमाशुल्क आर्जन पनि वृद्धि भएपछि नाफामा पनि सामान्य सुधार देखिएको हो ।
कम्पनीको कुल आम्दानी गत आवमा १४ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा चालु आवमा बढेर १५ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै खुद बीमाशुल्क आर्जन चालु आवमा ९ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । गत आवमा यस्तो शुल्क आर्जन ८ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो । सामान्य नाफा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि वृद्धि भएको छ । यो अवधिमा कम्पनीको प्रतिसेयर १० रुपैयाँ ६९ पैसा पुगेको छ । यस्तो आम्दानी गत आवमा १० रुपैयाँ ३० पैसा रहेको थियो ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीको सेयर प्रिमियम ६ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ६३ करोड रुपैयाँ र महाविपत्ति कोषमा ५८ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ । त्यस्तै कम्पनीको जीवन बीमा कोष १ खर्ब २७ अर्ब २७ करोड रुपैैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २ सय ४२ रुपैयाँ ४६ पैसा छ ।