काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडल (सलिको) को नाफा ६५ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा गत आवको सोही अधिको भन्दा ६५.७२ प्रतिशतले घटेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यस्तो नाफा गत आवको सोही अवधिमा २० करोड ८ लाख रुपैयाँ रहेको थियो । चालु आवमा कम्पनीको खुद बीमाशुल्क आर्जन घटेकाले नाफामा त्यसको प्रभाव परेको छ । कम्पनीको खुद बीमाशुल्क आर्जन चालु आर्थिक वर्षको ६ महिनामा ७१ करोड ९१ लाख रुपैयाँ रहेको छ । यस्तो शुल्क गत आवको सोही अवधिमा ७९ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीको कुल आम्दानी भने वृद्धि भएको छ । गत आवमा १ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । कम्पनीको स्पेशल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा ६३ करोड रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड रुपैयाँभन्दा बढी सञ्चित गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ०२ पैसा र प्रतिसेयर नेटवर्थ २ सय ४५ रुपैयाँ १८ पैसा रहेको छ।