काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको नाफा ६१ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा गत आवको सोही अवधिको तुलनामा ६१.७७ प्रतिशतले घटेको हो ।
वित्तीय विवरण अनुसार सञ्चालन आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि असर पुगेको छ । समीक्षा अवधिमा कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १४ करोड ८५ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ अर्ब १० करोड १६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.८८ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ अर्ब ५१ करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा २०.६३ प्रतिशत घटेको छ भने अन्य आम्दानी २७.९७ प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा १२.३८ प्रतिशत घटेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपौयँ ८३ पैसा घटेर २ रुपैयाँ ८ पैसामा झरेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ३१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५५.७६ गुणा रहेको छ । ५ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब १० करोड रुपैयाँ सञ्चित छ ।