काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी नेपालको नोटमा नेपाल संवत् समावेश गर्ने विषयमा विस्तृत छलफल गरेको छ । नेपाल संवत्लाई नेपालको आधिकारिक क्यालेन्डरको रूपमा मान्यता दिइसकेको भए पनि नेपाल राष्ट्र बैंकका नोटहरूमा अझै नेपाल संवत्लाई समावेश गरिएको छैन । यसै सन्दर्भमा, नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिको प्रतिनिधिमण्डलले सरकारको ध्यानाकर्षण गराउँदै नेपाल राष्ट्र बैंकले यस प्रक्रियालाई अघि बढाइसकेको जानकारी गराएको हो ।
प्रतिनिधिमण्डलका अनुसार अर्थमन्त्री पौडेलले नेपाल संवत्लाई नोटमा समावेश गर्ने विषयमा सकारात्मक धारणा राख्दै यस सम्बन्धी प्रक्रिया छिट्टै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन् । समितिले नेपाल संवत्लाई नोटमा समावेश गर्नु ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मात्र नभई पहिचानको विषय पनि भएको भन्दै तत्काल आवश्यक पहल गर्न आग्रह गरेको छ ।
नेपाल संवत्लाई नेपालको मौद्रिक प्रणालीमा आधिकारिक रूपमा समावेश गर्नुपर्नेसम्बन्धी अभियान लामो समयदेखि चलिरहेको छ। यसअघि पनि विभिन्न समुदाय र संस्थाहरूले सरकारसमक्ष पटक–पटक माग राखेका थिए । नेपाल राष्ट्र बैंकले यसबारे प्रारम्भिक प्रक्रिया अघि बढाइसकेको भए पनि कार्यान्वयन चरणमा जान समय लागेको भन्दै सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
प्रतिनिधिमण्डलले यस विषयमा थप पहल जारी राख्ने प्रतिबद्धता जनाएको छ भने अर्थमन्त्री पौडेलले आवश्यक प्रक्रिया छिट्टै अघि बढाइने आश्वासन दिएका छन ।