काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले डिजिटल भुक्तानीलाई निःशुल्क बनाउन माग गरेकी छिन् । अजाको प्रतिनिधि सभामा बोल्दै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने सरकारको नीतिलाई व्यवहारिक बनाउनु पर्नेमा जोड दिएकी हुन् ।
‘सरकारले पटक–पटक विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने भनेको छ । तर यदि मैले नगदमार्फत कसैलाई १०० रुपैयाँ दिए कुनै पनि प्रकारको कर लाग्दैन र पैसा दिएबापतको अतिरिक्त शुल्क तिर्नु पर्दैन । तर, डिजिटल भुक्तानीमार्फत १०० रुपैयाँ कसैलाई दिनुपरेको खण्डमा भुक्तानी शुल्क र त्यसमा लाग्ने करसमेत जोड्दा १११.३० रुपैयाँसम्म तिर्नुपर्छ,’ उनले भनिन् ।
डिजिटल कारोबारलाई यसरी महँगो बनाइनुले नागरिकहरू निरुत्साहित भइरहेको बताउँदै उनले सरकार र अर्थ मन्त्रालयलाई कर कटौती गर्दै निःशुल्क भुक्तानी प्रणालीको विकास गर्न ध्यान दिन आग्रह गरिन् ।