केराका बोट सुक्न थालेपछि म्याग्दीका किसान चिन्तित

म्याग्दी । रोगले केराको बोट सुक्न थालेपछि म्याग्दीमा केराखेती गरिरहेका किसान चिन्तित भएका छन् । जिल्लाको बेनी नगरपालिका, रघुगङ्गाा र मङ्गला गाउँपालिकाका विभिन्न गाउँका केराबारीमा रोग लागेको हो ।

पसाउने बेलाको हजारी केराका बोट नै सुक्न थालेका मङ्गला गाउँपालिका–३ का किसान टेकबहादुर खड्काले जानकारी दिए । ‘के भएर यस्तो भएको हो पत्ता लाउनै सकिएको छैन, खडेरीले खाएको जस्तो बोट सुकेका छन्, गुबो झरेको छ,कोसा पसाएको छैन,’ उनले भने । उनले चार रोपनीमा केराखेती गरिरहेका छन् ।

त्यसैगरी, विगत पाँच वर्षदेखि केराखेती गर्दै आउनुभएका बेनी नगरपालिका–२ बगरफाँटका खिमबहादुर कार्कीले पनि केरामा नयाँ किसिमको रोग देखिएको बताए । ‘छ वर्षदेखि केराखेती गरिरहेको छु, अहिलेको जस्तो बोट नै सुकेको मैले देखेको थिइन’, उनले भने । कृषि प्राविधिकहरुले पनि रोग पहिचान गर्न नसकेको उनले बताए । जिल्लाका खबरा, बगरफाँट, राखु, अर्मन, पीपलबोटलगायतका ठाउँका कृषकले केरा खेतीबाट राम्रो आम्दानी गर्दै आएकोमा अहिले केराको बोटै सुक्ने रोग देखिएपछि आम्दानी घट्ने भएको छ ।

विगत १४ वर्षदेखि केराखेती गर्दै आएका बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्कीले केराखेतीमा उत्पन्न समस्याले यो वर्ष आफ्नो घरव्यवहार चलाउन अति कठिन हुने दुखेसो गरे ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार