काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा करिब ९ प्रतिशतको वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा ८.७३ प्रतिशतले नाफा बढेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको पुस महिनासम्ममा ३७ कोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवमा कम्पनीको नाफा ३४ करोड ६० लाख रुपैयाँ रहेको थियो । वित्तीय विवरण अनुसार गत आवमा कम्पनीको कुल आम्दानी १० अर्ब ९७ करोड ९४ लाख रुपैयाँ रहेकोमा चालु आवको ६ महिनामा बढेर १२ अर्ब २१ करोड ४६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, खुद बीमाशुल्क आर्जन गत आवमा ७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर ८ अर्ब ६ करोड ९ लाख रुपैयाँ पुगेको छ ।
गत आवको दोस्रो त्रैमाससम्म ५८ अर्ब २९ करोड ६२ लाख रुपैयाँ रहेको जीवन बीमा कोषको आकार बढेर चालु आवमा ७० अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुगेको छ । कम्पनीको चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ रहेको छ । कम्पनीले दास्रो त्रैमाससम्म रिटेन्ड अर्निङमा २ अर्ब १३ करोड ३२ लाख रुपैयाँ र महाविपत्ति कोषमा ४६ करोड रुपैयाँ सञ्चित गरेको छ ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आमदानी ८ रुपैयाँ ६३ पैसा रहेकोमा चालु आवमा बढेर ९ रुपैयाँ ३८ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ २१ पैसा रहेको छ ।