‘सबल अर्थतन्त्रलाई आन्तरिक स्रोतको प्रभावकारी परिचालन आवश्यक’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुक सञ्चालन र विकासको मेरुदण्ड देशले परिचालन गर्ने राजस्व क्षमतामा निर्भर हुने भएकोले कुनै पनि मुलुकको सवल अर्थव्यवस्था निर्माणमा आन्तरिक श्रोतको दक्ष र प्रभावकारी परिचालनको महत्वपुर्ण भुमिका रहने बताएका छन् । राजस्व अनुसन्धान विभागको आयोजना तथा महासंघको समन्वयमा मंगलवार महासंघको सचिवालयमा आयोजित ‘राजस्व चुहावट नियन्त्रण र भिसिटिएस सम्बन्धि’ अन्तरकृया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले अपेक्षित राजस्व संकलन हुनको लागि उद्योग व्यवसायमैत्री वातावरण आवश्यक रहेको बताएका हुन् ।

‘कतिपय अवस्थामा वैध व्यवसाय गर्नेहरु पनि नियमनकारी निकायहरुको अनुगमनको नाममा अनावश्यक झमेलामा पर्ने गरेको आवाज व्यवसायीहरुवाट आउने गरेको छ । यसले व्यवसायीको अतिरिक्त समय र आर्थिक भार बढ्न गई व्यवसाय महंगो हुने र प्रतिष्पर्धि क्षमतामा ह्रास आउने गरेको छ । यस तर्फ पनि विभागको समुचित ध्यान जाओस,’ अध्यक्ष ढकालले भने । यस्तै उनले अर्थतन्त्र चलायामान भई बजारमा मागको वृद्धि भए मात्र आर्थिक गतिविधिमा बढ्न जाने, उत्पादन तथा व्यवसायमा सुधार आउनुका साथै राजस्व संकलन पनि वृद्धि हुन जाने बताए ।

यस्तै हालै जारी अध्यादेशबाट यस विभागको कार्यक्षेत्र भित्र पर्ने राजस्व चुहावट ऐन २०५२ का केही प्रावधानहरुमा संशोधन भएको र संशोधनमा समेटिएका मूलतः मुद्धा दायर गर्ने विगोको सीमा ५० लाखबाट ३ करोड बनाईएको, मुद्धा दायर हुनु अगाडी सम्वन्धित व्यक्तिले बिगो र सो बमोजिमको जरिबाना बुझाउन चाहेमा मुद्धा नचलाउने निर्र्णय गर्र्न सक्ने, मुद्धा दायर पछि पनि मिलापत्र र मुद्धा फिर्ता लिन सक्ने संशोधित प्रावधानले व्यवसायिक वातावरण निर्माण गर्न थप सहयोग पुग्न जाने विस्वास निजी क्षेत्रले लिएको समेत अध्यक्ष ढकालले बताए ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरेले सरकार र निजी क्षेत्र दुबैको उद्धेश्य वैध व्यापारलाई प्रोत्साहन गरी अवैध र अनौपचारिक व्यापारलाई नियन्त्रण गर्ने भएकोले सरकार निजी क्षेत्रको सहकार्यबाट मात्रै त्यो कार्य सम्भव रहेको बताए । उनले विभागको उद्धेश्य कसैलाई दुःख दिने नभई नियमन र सहजिकरण भएको उल्लेख गर्दै विद्यमान नीति नियमका बारेमा व्यवसायीहरुमा अन्यौल भए आफुहरु सहजिकरण गर्न सदैव तयार रहेको बताए । सो अवसरमा व्यवसायीहरूले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन गुणस्तरिय प्रविधिको प्रयोग सहित प्रविधिको प्रयोगलाई थप व्यवस्थित, झन्झटरहित र युजरमैत्री बनाउनु पर्नेमा जोड दिएका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार