काठमाडौं । आर्सनलले म्यानचेष्टर सीटीलाई फराकिलो अन्तरले पराजित गरेको छ । गए राति भएको खेलमा आर्सनलले सिटीलाई ५–१ ले हराएको हो ।
यो जितसँगै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ । आर्सनललाई जित दिलाउन मार्टिन ओडेगोर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे । ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे । ५५ औं मिनेटमा हालान्डले बराबरी गोल गर्दैै सिटीलाई खेलमा फर्काए । तर त्यसको एक मिनेटमै पार्टेले गोल गर्दैै आर्सनललाई अघि बढाए। त्यसपछि सिटी सम्हालिन सकेन ।
स्केलीले ६२ औं मिनेटमा गोल गरे। आर्सनलका लागि सिनियर लेभलमा यो उनको पहिलो गोल हो । ७६ औं मिनेटमा हार्भेट्ज र इन्ज्युरी समयको तेस्रो मिनेटमा नोनेरीले गोल गरेपछि आर्सनलको जित सहज बन्यो ।
२४ खेलमा दोस्रो स्थानको आर्सनलको ५० अंक छ । एक खेल कम खेलेको लिभरपुलको ५६ अंक छ । सिटी ४१ अंकसहित चौथो स्थानमा छ। सोमवार वेस्ट ह्यामलाई हराउन सके चेल्सी चौथो स्थानमा उक्लनेछ ।