काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीले सुनाएको सरकारको उपलब्धिमाथि नै प्रश्न गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले केही आयोजनाको ब्रेक थ्रुलाई उपलब्धिको रूपमा सुनाएका थिए । यसबारे लिङ्देनले ओलीले सुनाएका उपलब्धि हेरे देशमा सरकार नै नभएको देखिने बताए । ‘प्रधानमन्त्रीले जुन उपलब्धि सुनाए ।
सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रु भयो, फास्ट ट्रयाकमा अर्को सुरुङमार्ग ब्रेक थ्रु भयो । तेस्रो मुलुकसँग विद्युत् व्यापार सम्झौता भयो भनेर उपलब्धि सुनाए,’ उनले भने, ‘यो सरकार नभएको भए सिद्धबाबाको सुरुङमार्ग ब्रेक थ्रु हुँदैनथ्यो ? बंगलादेशसँग विद्युत् व्यापार सम्झौता हुँदैनथ्यो ? कांग्रेस–एमाले मिलेर बनेको सरकारको उपलब्धि यही हो ? यो हेर्ने हो भने मुलुकमा सरकार छैन भने हुन्छ ।’
उनले सरकारले नियमित विषयलाई उपलब्धि मानेकामा आपत्ति जनाए । लिङ्देनले सुशासन, रोजगारी सिर्जना, अर्थतन्त्र सुधारमा काम हुन नसकेको बताए । उनले सरकारको ६ महिनाको अवधि निराशाजनक रहेको पनि बताए । ‘गएको साढे ६ महिनाको सरकारको समय निराशजनक छ । हामी चाहन्छौँ, कांग्रेस र एमालेजस्तो ठूले पार्टी मिलेर बनेको सरकारले डेलिभरी दिनुपर्छ,’ उनले भने, ‘हामी विरोध मात्रै गर्दैनौँ, अपेक्षा गर्छाैं सुध्रियोस् ।’ उनले सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमै लागिरहेको आरोपसमेत लगाए ।