बाँके । महोत्सवस्थलको प्रवेशद्वारमै छ, ‘पैँचो पसल’ । उक्त पैँचो पसलमा लुम्बिनी प्रदेशमा उत्पादित विभिन्न अग्र्यानिक खाद्यवस्तु प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । महोत्सवमा आउने अधिकांश पसलमा एकैछिन भए पनि रोकिएर चाखपूर्वक अग्र्यानिक खाद्यान्नबारे जानकारी लिन्छन् भने केहीले खरिद पनि गर्छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा यही माघ १० गतेदेखि सुरु भएको प्रादेशिक महोत्सवमा अधिकांश अवलोकनकर्ताको रोजाइ अग्र्यानिक खाद्यवस्तुमा देखिएको छ । अन्य स्टलले भन्दा अग्र्यानिक खाद्यान्नका प्रदर्शनी कक्षले अवलोकनकर्ता आकर्षित गरेको आयोजकको बुझाइ छ । अग्र्यानिक कोसेली फुड इन्डष्ट्रिज प्रालिका सञ्चालक इन्दिरा शाहीले महोत्सवमा अग्र्यानिक खाद्यान्नमा अवलोकनकर्ताको आकर्षण रहेको बताउछिन् । ‘मेरो प्रदर्शनी कक्षमा सबैभन्दा बढी बिक्री हुनेमा सातु छ, विभिन्न खाद्यान्न मिसाएर बनाएकाले होला धेरैले मन पराउनुभएको छ’, उनले भनिन् । शाहीको प्रदर्शनी कक्षमा हिमाली र पहाडी क्षेत्रमा उत्पादित लसुन, खुर्सानी, टिमुरको छोपका साथै सेलरोटी, जुम्लाको अर्सा बिक्री भइरहेको छ । उनले दैनिक औसत रु १० हजारको बिक्री भइरहेको सुनाइन् ।
त्यस्तै नमुना च्याउ फर्म कोहलपुरकी पद्मकली बमले पनि स्थानीय उत्पादनमा अवलोकनकर्ताको चाख राम्रो देखिएको बताउछिन् । ‘मेरो प्रदर्शनी कक्षमामा फापर, कोदो, मार्सी चामल, चिनो, सिमी, सिस्नो बिक्रीमा छन,’ उनले भनिन् ‘नेपालगञ्जवासीले पनि सिस्नो, कोदो र फापर यति धेरै मन पराउनुहुन्छ भन्ने सोचेकै थिइन्, महोत्सवमा राम्रो व्यापार भइरहेको छ ।’ मीठो छ फुड प्रालिका सविता शाहको अनुभव पनि त्यस्तै छ । उनले महोत्सवमा फिनी र सेलरोटी, खुर्मालगायतका परिकार बिक्री गरिरहकिछिन् । ‘हेर्दा राम्रो र खाँदा स्वादिला भएकाले होला, बिक्री राम्रो भइरहेको छ, दैनिक औसत रु चार हजारको आम्दानी भइरहेको छ’, उनले भनिन् ।
महोत्सवमा हुम्लाको चङ्खेलीको घट्टेखोला मौरीपालन व्यवसायी फर्मका हरिलाल बुढाले भिरमौरीको महसँगै हुम्लामा उत्पादित अग्र्यानिक सिमी, कोदो, चिनो, हाडे ओखर बिक्रीमा राख्नु भएको छ । ‘बजारभरि डुलेर बिक्री गर्दै अग्र्यानिक होभन्दा धेरैले पत्याउँदैनथे, महोत्सवमा भने धेरैले भिरमौरीको मह मनपराउनुभएको छ’, उनले भनिन् । बुढाले एक किलो भिरमौरीको मह रु एक हजार आठ सयमा बिक्री गरिरहेकि छिन् । उनले महोत्सवमा मात्रै अहिलेसम्म २२ केजी मह बिक्री भइसकेको बताइन् ।
बर्दियाको मधुवन–८ को सृजनशील दालमोठ तथा चिप्स उद्योगकी वसन्ती जोशी स्थानीय आलुबाट बनेको चिप्सको माग महोत्सवमा राम्रो रहेको सुनाइन् । उनको प्रदर्शनी कक्षमा चिप्ससँगै दालमोठ, कुरकुरे, चना, केराउ बिक्रीमा राखिएको छ । रोजिना किराना तथा तरकारी पसलकी रुपनी आचार्यको प्रदर्शनी कक्षमा पनि जुम्ला, कालीकोट र बर्दियामा उत्पादित अग्र्यानिक खाद्यवस्तु राखिएको छ । जसमध्ये अधिकांशको रोजाइमा कोदो र फापरको पिठोमा रहेको उनले सुनाइन् । नेपालगञ्ज–२ बागेश्वरी टोलको ‘आन्टीको अचार’ प्रदर्शनी कक्षमा बयर अचार, अकबरे खुर्सानी, आँप, लप्सीको अचार, टिमुर, सिद्रा, चिकन र बफका अचारमा पनि अवलोकनकर्ताको भीड छ ।
महोत्सवका तथ्यांक व्यवस्थापन समितिका संयोजक युवराज ढकालका अनुसार महोत्सवमा अग्र्यानिक खाद्यवस्तुको बिक्री राम्रो भइरहेको छ । संघका प्रथम उपाध्यक्ष तथा प्रादेशिक महोत्सवका प्रदर्शनी कक्ष बुकिङ समितिका संयोजक चिरञ्जीवी ओलीले महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका खाद्यवस्तुका तीन सयभन्दा प्रदर्शनी कक्ष छन् ।