‘सूचना प्रविधि क्षेत्रबाट वार्षिक १० खर्ब बढी आम्दानी गर्न सकिन्छ’

काठमाडौं । सूचना प्रविधि क्षेत्रका जानकारहरुले नेपालले सूचना प्रविधि (आईटी) जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक १० खर्ब रुपैयाँ भन्दा बढी आम्दानी गर्न सकिने बताएका छन् । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनको आजको समूहगत छलफलमा उनीहरुले सो धारणा व्यक्त गरेका हुन् ।

कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा जारी नेपाल ‘स्टार्टअप’ र ‘एसएमई’ सम्मेलनको दोस्रो दिनको ‘उद्यमशीलता र जनशक्ति विकासः आईटी क्षेत्रको लागि तयारी’ शीर्षकको सत्रमा भएको छलफलका वक्ताहरुले आईटीमा थोरै लगानी गर्नसके राम्रो परिणाम हात पार्न सकिने बताएका हुन् । इनोभेटिभ नेपाल (आईएनजी) ग्रुपका प्रमुख सुलभ बुढाथोकीले नेपालको आइटी क्षेत्रमा धेरै अवसर भएकाले दक्ष जनशक्ति निर्माणमा लगानी आवश्यक भएको बताए । आवश्यकताअनुसार जनशक्ति उत्पादन गर्नसकेमा वार्षिक रु १० खर्बभन्दा बढीको आईटी सेवा निर्यात गर्न सकिने उनको भनाइ थियो । ‘अहिले हामीले दक्ष जनशक्ति निर्माणको लागि प्रयत्न गरिरहेका छौं । हरेक आईटी कलेजहरुमा कोटा नछुट्याइ सहजै आईटी पढन सकिने व्यवस्था गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्छ भनेर लविङ गरिरहेका छौं,’ उनले भने । अहिले विश्वभर सबैभन्दा बढी आर्थिक उपार्जनको स्रोत बनेको पर्यटन क्षेत्रलाई पनि आईटीले उछिनिसकेको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डिन प्रा.डा महाननन्द चालिसेले अहिलेको समयमा प्राविधिक शिक्षासहितको व्यवसायिक ज्ञानमा राज्यले ध्यान दिनुपर्ने बताए । उनले पढाइमा सरकारले प्राविधिक पक्षमा ध्यान दिनुपर्ने उल्लेख गरे । यसका लागि त्रिभुवन विश्वविद्यालयले निरन्तर आफ्नो तर्फबाट काम गरिरहेको पनि उनले जानकारी गराए । ‘सरकारले नीति त ल्याउँछ तर प्राविधिक क्षेत्रमा विद्यार्थीलाई कसरी जोडने भन्ने बिषय समेटिएको छैन । हरेक संकायमा प्राविधिक र व्यवसायिक सिप सिकाउने गरी पाठ्यक्रम निमार्ण गर्ने र त्यसलाई व्यवहारिक रुपमा लागु गर्न आवश्यक छ,’ उनले भने ।

सीनासका कार्यकारी निर्देशक मिर्गेन्द्र कार्कीले परिवर्तनशील समयअनुसार सपना देख्ने, लगानी गर्ने, र प्रयोग गर्ने क्षेत्रलाई छुट्याएर त्यसको ब्रान्डीङसहितको प्रचार गर्न आवश्यक भएको बताए । उनले देशको भुगोल अनुसारको उत्पादित सामग्रीको राज्यले प्रवद्र्धन गर्न सकेको अवस्थामा समग्र आर्थिक रुपान्तरण गर्न सहज हुने उल्लेख गरे । योङ इनोभेसनका संस्थापक विभूषण बिष्टले राज्यले आईटी क्षेत्रलाई समेट्ने गरी नीति ल्याएको अवस्थामा अहिलेको तुलानामा पाँच गुणा बढी जनशक्ति उत्पादन गर्न सकिने र त्यहीअनुसार सेवा निर्यात गर्न सकिने बताए । ‘उद्यमशीलता एक माइन्डसेट हो । उद्यमी र सर्वसाधारण मानिसबीच के भिन्नता छ भने सामान्य मानिसले समस्या देखिरहेको हुन्छ भने उद्यमीले अवसर देखिरहेको हुन्छ । त्यो समस्या समाधान गर्ने प्रयास गरिरहेको हुन्छ । कुनै पनि उद्यमीले त्यसलाई कार्यान्वयन नगरेसम्म त्यो अवसर वा त्यो ‘आइडीया’को मूल्य शून्य नै रहन्छ । शिक्षामा उद्यमशीलतालाई जोड्न आवश्यक छ र उद्यमशीलता पढेको व्यक्तिले मात्रै स्टार्टअप गर्नुपर्छ भन्ने हुँदैन,’ उलने भने ।

त्यस्तै खिम्भु टेकका सीईओ कार्भिका थापाले स्टार्टअप सुरु गर्दा आफ्नो रुचीको विषय छानेर काम गर्न सकेको अवस्थामा मात्रै सफलता हात पार्न सकिने बताए । ‘सुरुमै उद्यमशील बन्ने आधारको लागि सिप विकास आवश्यक छ । जे विषयमा क्षमता छ, त्यसैका लागि प्रयत्न गनुपर्दछ,’ उनले भने । कांग्रेस केन्द्रीय कार्यालयमा बुधबारदेखि सुरु भएको सम्मेलनले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवद्र्धनसमेत हुने विभागका संयोजक उर्मिला थपलियाको विश्वास छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार