‘लिफ्ट’ सिँचाइले फेरियो मटेराको मुहार, गाउँका १०० घर परिवार कृषि कर्ममा

दाङ । तुलसीपुर उपमहानगरपालिका–१४ मटेराका ५२ वर्षीय पुर्णबहादुर चौधरी खेती किसानीमा व्यवसायमा संलग्न हुनुहुन्छ । उनले तोरी, चना, केराउ खेतीबाट प्रशस्त आम्दानी गरेका छन् । लिफ्ट सिँचाइले उनी सफल किसान बनेका हुन् ।

‘पहिले नौ बिघा जमिनमा तोरी, चना र केराउखेती गरे पनि उत्पादन कम हुन्थ्यो तर अहिले पहिलेको तुलनामा १० गुणाबढी उत्पादन हुन्छ । लिफ्ट सिँचाइका कारण यो सब सम्भव भएको हो’, उत्पादन वृद्धिको रहस्य सुनाउँदै उनले भने । उनले पाँच बिघामा तोरी र बाँकी भूमिमा केराउ तथा चनाखेती गरेका छन् । उनी बेमौसमी सागसब्जी लगाउने योजनामा छन् । कृषि उपज बेचेर बितेको याममा आफूले ५ लाख रुपैयाँ बचत गरेको उनले बताए । उनी कृषि औजरको भरपुर उपयोग गर्ने किसानका रुपमा पनि मटेरामा परिचित छन् । पूर्ववडासदस्य उनी हिजोआज राजनीतिबाट अलग छन् । यद्यपि सामाजिक काममा गाउँलले उनलाई नै सम्झन्छन् ।

मुस्किलले एक याममा मात्र खेती हुने मटेरामा हिजोआज सधैं खेती हुने गरेको छ । साजसब्जी फलाउने गाउँका रुपमा यो गाउँको नयाँ परिचय पनि थपिएको छ । यही गाउँकी ४४ वर्षीया अष्टुमी चौधरीले तोरी तथा सागसब्जी बेचेर आर्थिक रूपमा आफू आत्मनिर्भर भएको बताएका छन् । उनले तीन बिघामा तोरी र तीन बिघामा सागसब्जी रोपेका छन् । उनी आफ्ना उत्पादन स्वयं बजार पुर्याउँछन् र आफैं बेच्नुहुन्छ । टमाटर र काउली र धनियाँ बिक्री गरेर डेढ लाख रुपैयाँ आम्दानी गरेको उनले बताए । तोरी बेचेर अर्को ३ लाख ५० हजार बचत गरेको उनले खुसी हुँदै सुनाए। सबै खर्च कटाएर त्यति मुनाफा आर्जन भएको हो । थाप्लामा भारी बोकेर सागसब्जी बेच्नुपर्ने बाध्यता नभएकामा उनी मक्ख छन् ।
मोटरमा कृषि उपज बजारसम्म लैजाने उनी मात्र हुन् उनका छिमेकी पनि उत्तिकै परिश्रम गर्छन् जसले उनीहरुलाई आर्थिक रुपमा सबल बनाएको छ । मेटेरा गाउँका एक सय घरका परिवार लिफ्ट सिँचाइका माध्यमबाट कृषिकर्म गरिरहेका छन् ।

एक करोड ५० लाख खर्चेर बबइको पानी लिफ्ट सिँचाइ आयोजनामार्फत किसानका खेतबारीमा पुगेपछि मटेराको मुहार फेरिएको हो । यसैबीच, लुम्बिनी प्रदेश सरकारले मटेरा र लुहाडबरा गाउँलाई ‘स्मार्ट’कृषि गाउँ घोषणा किसानलाई तालिम, अनुदानमा कृषि औजार र बीउ वितरण गरी व्यावसायिक रुपमा कृषि कर्ममा लाग्न अभिप्रेरित गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार