काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले करिब ५ लाख कित्ता सेयर बिक्रीमा लिलाम मार्फत बिक्रीमा राख्ने भएको छ । कम्पनीले यही माघ २१ गतेदेखि अवितरित ४ लाख ९२ हजार ५७७ कित्ता (सर्वसाधारण समूह) हकप्रद सेयर लिलाम मार्फत बिक्री गर्ने भएको हो ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । सेयर इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले किन्न सक्नेछन् । सेयर किन्न आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, ठमेल काठमाडौं वा एलआईसीका विराटनगर, वीरगंज, पुतलीसडक, पोखरा, नेपालगञ्ज, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।
आवेदन दिने अन्तिम मिति फागुन ५ गते सोमबार कार्यालय समयसम्म मात्रै रहेको छ । कम्पनीले कात्तिक ९ गतेसम्म कायम सेयरधनीका लागि गत मंसिर १२ देखि पुस १७ गतेसम्म ८८.४५ प्रतिशतका दरले २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
बिक्री अवधिभर रितपूर्वक आवेदन दिएका ११ हजार ४६८ जनालाई २ करोड २९ लाख ७५ हजार ४२३ कित्ता सेयर बाँडफाँड गरेको थियो । यसरी बाँडफाँडपछि बाँकी रहेको सेयर लिलाम मार्फत् बिक्री गर्न लागेको हो ।