अध्यादेशले घरजग्गा व्यवसायीमा आशा जगाएको छ, कार्यान्वयनमा जोड दिउँ

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था समयअनुसार परिमार्जन गर्नुपर्ने बताएको छ । बुधबार काठमाडौमा पत्रकार सम्मेलनमा व्यवसायीहरुले यस्तो बताएका हुन् ।

महासंघले रियल स्टेट परियोजनामा विदेशी लगानी भित्राउन पाउने र विदेशीले पनि अपार्टमेन्ट खरिद गर्न पाउने कानुनी व्यवस्था गर्न माग गरेको छ । यसो भएमा घरजग्गा व्यवसायलाई उद्योगको रुपमा प्रवर्धन गर्न सहयोग मिल्ने र मुलुकको अर्थतन्त्र सुदृढ हुने महासंघको दाबी छ । महासंघले सहरी विकास तथा घरजग्गासम्बन्धी कानुनी तथा नीतिगत विषयमा समसामयिक सुधार गरी रियल स्टेट व्यवसायलाई उद्योगको रूपमा विकास गर्नुपर्ने मत राख्दै आएको छ ।

यही माघ चार गते मकवानपुरको हेटौंडामा आयोजित महासंघको केन्द्रीय कार्यसमितिको बैठक तथा अन्तरक्रियामा सहभागीहरुले प्रत्येक प्रदेशहरुमा कम्तीमा एउटा नमुना सहर निर्माण गर्ने र रियल स्टेट व्यवसाय प्रवद्र्धनका लागि जग्गाको हदबन्दी फराकिलो बनाउनुपर्नेमा जोड दिएका थिए ।

नेपाल सरकारले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरी घरजग्गा व्यवसायमा हदबन्दी छुट दिनेसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा सुधार गरेको भन्दै महासंघले सरकारप्रति आभार व्यक्त गरेको छ ।

अब अध्यादेशले गरेको व्यवस्था कार्यान्वयनका लागि भूमि तथा मालपोत नियमावलीहरुमा संशोधन गर्न र जग्गा प्रशासनसम्बन्धी निर्देशिका एवम् कार्यविधि परिमार्जन गर्न पनि महासंघले माग गरेको छ । महासंघले खरिदबिक्री भइसकेका घर तथा अपार्टमेन्ट भित्रका संस्थापकरकम्पनीकै नाउँमा रहेका सामूहिक प्रयोगको क्षेत्रको स्वामित्व हस्तान्तरण र त्यसको राजश्वका सम्बन्धमा समेत स्पष्ट कानुनी व्यवस्था गर्न पनि माग गरेको छ ।

रियलस्टेटमा विदेशी कम्पनी भित्रााएमा र विदेशीले पनि नेपालमा अपार्टमेन्ट खरिद गर्न पाउने भएमा विदेशी मुद्रा सञ्चितीमा ठूलो योगदान पुग्ने महासंघको विश्वास छ । नेपाल सरकारले पटक–पटक आफ्नो वार्षिक बजेटमा यो विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए पनि सो सम्बन्धी कानुनी व्यवस्था नभएकाले कानुन निर्माण गर्न महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार