चितवन । चितवनको पर्यटनको दिगो विकासका लागि एकीकृत गुरुयोजना बनाएर कार्यान्वयन गर्नपर्ने विज्ञहरूले औँल्याएका छन् । पर्यापर्यटन र जङ्गल सफारीमा विश्वमै ख्याति कमाएको चितवनमा धार्मिक, साहसिक, सांस्कृतिक पर्यटन आदिको प्रचुर सम्भावना भएकाले यी क्षेत्रसमेत समेटेर एकीकृत गुरुयोजना बनाउन विज्ञहरूको सुझाव छ ।
पर्यटनविज्ञ डा. विश्वराज सुवेदी सिराइचुलीदेखि सौराहा, माडी, गोलाघाट आदि पर्यटन क्षेत्रलाई समेटेर एकीकृत विकास गर्नुपर्ने बताए । ‘चितवनमा वन र वन्यजन्तुमा आधारित पर्यटन क्षेत्र मात्रै छैनन्, सूर्योदयका लागि ख्यातिप्राप्त सिराइ चुली, सूर्यास्तका लागि मेघौली गोलाघाट, आदिवासी जनजातिका विभिन्न संस्कृति, धार्मिक क्षेत्र देवघाटलगायतका क्षेत्रलाई समेटेर पर्यटन विकास योजना बनाउन जरुरी छ,’ उनले भने ।
चितवनको सौराहा, पटिहानी, जगतपुर, मेघौली र माडी क्षेत्र वन र वन्यजन्तुमा आधारित पर्यटनको क्षेत्र हो । चितवन राष्ट्रिय निकुञ्जको नजिक रहेकाले यो क्षेत्र आफैँमा पर्यटकीय क्षेत्र भएको हो । यसका अलवा माडीको अयोध्याधाम, वाल्मीकि आश्रमलाई एकीकृत पर्यटक योजनामा समेट्न जरुरी छ । विभिन्न ठाउँका रैथाने खानाको प्रवर्धन गर्न सके मात्रै चितवनको पर्यटन विकास हुन सक्ने उनको सुझाव छ । ‘घोँगी, चिचर जस्ता मौलिक खाना प्रवर्धन गर्न जरुरी छ,’ सुवेदीले भने । चितवनका सम्भावित पर्यटन क्षेत्रहरूको एकअर्काको प्रतिस्पर्धी नभई परिपूरकका रूपमा विकास गरिनुपर्ने उनले बताए ।
उद्योग वाणिज्य संघ चितवनका सदस्य एवं पर्यटन सल्लाहकार सूर्यनारायण पौडेलले चितवनलाई पर्यटन हबका रूपमा विकास गराउन पहिला पर्यटन योजना आवश्यक रहेको बताए । ‘पर्यटनको एकीकृत योजना बनाउन सकियो भने मात्रै चितवनलाई पर्यटनको केन्द्र बनाउन सकिन्छ । चितवनबाटै पर्यटकलाई पोखरा लुम्बिनी भ्रमण गराई पर्यटकको बस्ने अवधि लम्ब्याउन सकिने छ,’ उनले भने ।
राष्ट्रिय राजमार्गको दयनीय अवस्था र बाह्य पर्यटकका लागि लिइने हवाई भाडा अत्यन्त महँगो हुँदा चितवनको पर्यटनमा असर गरेको उनको बुझाइ छ । ‘संख्यात्मक पर्यटकभन्दा गुणात्मक पर्यटकमा जोड दिउँ,’ उनले भने ।