पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

रावलपिण्डी । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फैसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ । न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने, ‘अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ । खान दोषी ठहरिएका छन् ।’ खानकी पत्नी बीबीलाई सात वर्षको जेल सजाय सुनाइएको छ ।

भ्रष्टाचारविरोधी अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा भएको सुनुवाइपछि फैसला सुनाएको हो । उनीहरूले मिलेर स्थापना गरेको अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ । खान सन् २०२३ को अगष्टदेखि जेलमा रहेका छन् । उनीमाथि करिब दुई सयवटा मुद्दा लगाइएका छन् । ती मुद्दा उनलाई सत्तामा फर्कनबाट रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दावी खानले गरिरहेका छन् ।

उनकी पत्नी बुशरा बीबी हालसालै जेलबाट रिहा हुनुभएको थियो भने उनलाई फैसलापछि शुक्रबार अदालतबाटै पक्राउ गरिएको छ । शुक्रबार बिहान अदालतको सुनुवाइमा भाग लिन उनले खानलाई राखिएको जेलमा उपस्थित भएका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार